वरिष्ठ चिनियाँ नेता जियान्चाओ आज नेपाल आउँदै

काठमाडौँ । चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान्चाओ आज (आइतबार) नेपाल आउँदै छन् ।
चार दिने नेपाल भ्रमणका लागि लिउ आज काठमाडौं आइपुग्ने परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

उनी आज बिहान ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ । आउँदो बुधबारसम्म नेपालमा रहने लिउले उच्च राजनीतिक तहमा भेटवार्ता गर्नेछन् ।

नेपालमा रहँदा चिनियाँ नेताले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली लगायतसँग भेटवार्ता गर्ने जनाइएको छ ।
एक महिनायता नेपालका प्रमुख दलसँग निरन्तर सम्पर्कमा रहेका चिनियाँ वरिष्ठ नेता लिउको भ्रमण तयारीका लागि परराष्ट्र र चिनियाँ दूतावासले समन्वय गरिरहेका छन् ।

लिउले गत जुन अन्तिम साता माओवादी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष ओलीसँग छुट्टाछुट्टै भिडिओ वार्ता गरेका थिए । उनले परराष्ट्रमन्त्री तथा कांग्रेस नेता नारायण खड्कासँग गतसाता मात्रै भिडिओ कुराकानी गरेका थिए । चीनमा लिउको हैसियत मन्त्री सरह छ ।

 
 
  
 

You may also like