बाणगंगाले आगामी बर्षका लागि ल्यायो १ अर्ब ४९ करोडको बजेट

कपिलवस्तु । बाणगंगा नगरपालिकाले आगामि आर्थिक बर्ष २०७९/०८० को बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको ११ औँ नगरसभाबाट आगामि आर्थिक बर्षको निति कार्यक्रम तथा बजेट सार्वजनिक गरेको हो । नगरपालिकाले आगामि आर्थिक बर्षका लागि १ अर्ब ४९ करोड १७ लाख ८९ हजार बराबरको बजेट सार्वजनिक गरेको छ ।

११ औं नगरसभामा बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणि अर्यालले एक भव्य कार्यक्रमका बिच उक्त बजेट सार्वजनिक गरेका हुन् । नगरपालिकाले आर्थिक वर्ष २०७९÷०८० मा संघ र प्रदेश सरकारबाट प्राप्त वित्तिय समानिकरणमा रु. २२ करोड ६४ लाख ४२ हजार, सशर्त अनुदानमा रु.४६ करोड १८ लाख, राजस्व बाँडफाँडमा रु. २० करोड ५० लाख, ४७ हजार, समपुरक अनुदानमा रु. २ करोड ४० लाख, अनुदानमा रु. २ करोड ९० लाख, आन्तरिक आयमा रु. १ करोड ७५ लाख, लागत सहभागिता र मौज्दात रकम रु. ४ करोड गरी जम्मा रु.१ अर्ब ४९ करोड १७ लाख ८९ हजारको बजेट बनेको मेयर अर्यालले जानकारी दिए ।

त्यस्तै सामाजिक सुरक्षा कार्यक्रमका लागि रु ३५ करोड, नगरपालिका र अन्तरर्गत कार्यालयमा कार्यरत कर्मचारीहरुको तलब भत्ता तथा नियमित कार्यक्रम लगायत अन्य प्रशासनिक कार्यका लागि रु १६ करोड १२ लाख रकम विनियोजन गरिएको छ । क्षेत्रगत बजेट विनियोजन अनुसार आर्थिक विकास तर्फका कार्यक्रमका लागि रु. ७ करोड ७९ लाख, सामाजिक विकास तर्फ रु. ७८ करोड ९२ लाख ६५ हजार, भौतिक पूर्वाधार तर्फ रु. ४४ करोड १४ लाख २४ हजार, वन, वातावरण तथा विपद व्यवस्थापन तर्फ रू. ९२ लाख, सुशासन तथा संस्थागत विकास तर्फ रू. १७ करोड ४० लाख बजेट विनियोजन भएको छ ।

प्रस्तुत बजेटमा आर्थिक, सामाजिक, पूर्वाधार विकास, वन वातावरण तथा विपद् व्यवस्थापन, शुसासन तथा संस्थागत विकासलाई प्राथमिकतामा राखेर बजेट ल्याईएको छ । यो बजेट अघिल्लो आर्थिक बर्षको तुलनामा २२ करोडले बढी रहेको छ ।

साथै नगरसभामा नगरपालिकालाई वालश्रम मुक्त नगर घोषणा गरिएको छ । जिल्लाका १० स्थानीय तहमध्ये बाणगंगा बालश्रम मुक्त नगर घोषणा हुनेमा पहिलो भएको छ । महिला, वालवालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख सुशिला पन्थले नगरपालिकामा बालश्रमको तथ्यांक तथा प्रतिवेदन प्रस्तुत गरेकी हुन् । सम्पुर्ण सुचक पुरा गरि प्रतिवद्धता वाचन गरि हस्ताक्षर सहित नगर प्रमुख अर्यालले वालश्रम मुक्त नगर घोषणा गरे । उक्त कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सभा सदस्य बिमला घिमिरेले समयमै बजेट सार्वजनिक गर्न सफल भएको भन्दै बजेटको शतप्रतिशत कार्यान्वयन हुनुपर्नेमा जोड दिईन् । उनले बाणगंगाको विकासका लागि राजनीतिक स्वार्थ भन्दा माथि रहेर सबै जनप्रतिनिधि, संघ संस्था तथा नगरवासी एकजुट हुनुपर्ने बताईन् । बालश्रम मुक्त नगर घोषणा भएर मात्र नहुने भन्दै यसलाई निरन्तरता दिन आवश्यक रहेको उनको भनाई छ ।

त्यस्तै विशिष्ठ अतिथि प्रदेश सांसद बिष्णु पन्थीले समग्रमा स्रोत र साधनको आधारमा बजेट उत्कृष्ट रहेकाले कार्यान्वयनको पाटो महत्वपुर्ण रहेको बताए । उनले प्रदेश सरकारले स्थानीय तहको विकासका लागि अहम भुमिका निर्वाह गरेको बताए ।

कार्यक्रममा पूर्व सांसद बिश्राम प्रसाद थारु , राजनीतिक दलका प्रतिनिधीहरु , बिभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधीहरु, नागरिक समाज, विद्यालय, सामुदायिक वनका प्रमुख तथा प्रतिनिधिहरुले सुझाव सहित आफ्नो धराणा राखेका थिए । बजेट सार्वजनिक कार्यक्रममा सम्पुर्ण वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु , बिषयगत शाखा प्रमुखहरु , कर्मचारी, पत्रकार लगायतको उपस्थिती रहेको थियो ।

साथै नगर विकासको क्षेत्रमा योगदान गरेकाले विकास पत्रकारीताबाट पत्रकार पिताम्बर घिमिरे (हरि) र सरीता थारु नगद सहित सम्मानित भएका छन् । उत्कृष्ट कार्यगर्ने कर्मचारी , बालश्रम नगर घोषणा गर्न सहयोग गर्ने बिभिन्न संघ संस्थाहरु , सहजकर्ताहरु लगाएतका व्यक्तीहरुलाई सम्मान गरिएको थियो । उक्त कार्यक्रममा उपमेयर रिता कुमारी थारुको स्वागत तथा वडा नं. ४ का वडा अध्यक्ष छबिलाल रेश्मी मगरको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

 
 
  
 

You may also like