विमला वली प्रकरण : तत्कालीन राज्यमन्त्रीको बचाऊ गर्दै बुझाइयो छानबिन प्रतिवेदन

बुटवल । लुम्बिनी प्रदेश सरकारकी स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला वलीले तुलसीपुरमा उपमहानगरपालिका-५ मा वाईसीएल कार्यकर्ता एकराज बस्नेतको घरमा गरेको विवादको घटना छानबिन गर्न बनेको सरकारी छानबिन टोलीले वलीको बचाउ गर्दै मुख्यमन्त्रीलाई प्रतिवेदन बुझाएको छ ।

छानबिन समितिका संयोजक आन्तरिक मामिला मन्त्री तिलक राम शर्मा र सदस्य महिला तथा बालबालिका मन्त्री रमा घर्तीले राज्यमन्त्री वलीलाई बचाउ गरेको प्रतिवेदन मुख्यमन्त्री कुलप्रसाद केसीलाई आज बुझाएका हुन् ।

लुम्बिनी प्रदेशकी तत्कालीन स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी खत्री वलीसँग सम्बन्धित घटनाबारे छानविन समितिले जेठ ३१ गते तुल्सीपुरको घटना सुनियोजित जस्तो देखिएको हुन सक्ने निष्कर्ष निकालेको छ । साथै घटनामा राज्यमन्त्रीको हैसियतमा गरिएको विवादले विमलाको पनि कमजोरी रहेको उल्लेख गरेको छ ।

प्रतिवदनमा विमला र एकराज बीचको लेनदेन कारणले घटना घटेको निष्कर्ष निकालेको जनाइएको छ । एउटै राजनीति दलका दुई व्यक्ति विभिन्न कार्यक्रम सहकार्य गर्दा सापटी रकम दिएर फिर्ता नहुँदा घटना भएको देखिएको जनाएको छ । प्रतिवेदनमा राज्यमन्त्री जस्तो व्यक्तिले सर्वसाधारणको घरमा श्रीमती र छोरीसँग झगडा गर्नु कमजोरी भएको उल्लेख छ । रकम असुली गर्नका लागि घरमै भन्दा अन्य विकल्प नखोज्नु कमजोरी भएको उल्लेख छ । विमला र एकराज बस्नेतबीच ६ लाख २० हजार रुपैयाँ लेनदेन भएको बताइएको छ । घटनामा विमलाले दायित्व बिर्सेर काम गरेको उल्लेख गर्दे सरकारले कडा रूपमा सचेत बनाउनु पर्ने राय दिएको छ ।

प्रतिवेदनमा एकराज पक्षले पनि योजनाबद्ध रूपमा स्थानीयहरू बोलाउने र मिडिया पहिले नै खबर गरेर बसेको जस्तो देखिएको शंकास्कापद रहेकोले थप छानबिन गर्नुपर्ने उल्लेख छ । एकराजले फोनमा घरै छु भनेपछि मन्त्री पुगेको तर नभेटिएपछि आवेगमा आएको प्रतिवेदनमा भनिएको छ । तत्कालीन राज्यमन्त्री वलीले जेठ ३१ गते बिहान आफ्नो सुरक्षा गार्डसहित एकराज बस्नेतको घरमा पुगेर लफडा मच्चाएको आरोप लागेको छ । उक्त घटनामा एकराज बस्नेतकी श्रीमती मीनाले आफू र छोरीमाथि कुटपिट भएको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी छन् । मुख्यमन्त्री कुलप्रसाद केसीले प्रतिवेदन अध्ययन गरेर सरकार अगाडि बढ्ने बताए ।

 
 
  
 

You may also like