गगन थापाको क्षेत्रमा इञ्जिनियर आकर्षण पोखरेलले गरे उम्मेदवारी घोषणा

काठमाडौं।नेपाली कांग्रेसका महामन्त्री गगन थापा सांसद रहेको काठमाडौं क्षेत्र नम्बर ४ मा इञ्जिनियर आकर्षण पोखरेलले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन्। क्षेत्र नम्बर ४ अन्तर्गत कपनको साततलेस्थित खहरेमा आयोजित कार्यक्रममा पोखरेलले प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरेका हुन् ।

पोखरेलले आफ्नो तीनचरणको घरदैलोमध्ये पहिलो घरदैलो कार्यक्रम आजैबाट शुरु भएको बताए । उनले पहिलो घरदैलोमा समस्या के हो भने घरघरमा गएर बुझ्ने बताए ।

ती समस्याहरुको बारेमा आफ्नो विज्ञ समूहले अध्ययन गरेर दोस्रो चरणमा समाधानका उपाय ल्याउँने र तेस्रो चरणमा मत माग्न घरघरमा आउँने उनले बताए ।

आफूसँग विकासको एजेण्डा रहेको भन्दै पाँच बुँदे सूत्र सुनाए । पोखरेलले आफू कसैलाई गाली गरेर नेता बन्न नचाहेको तर विकास गर्न सक्ने योजना रहेको बताए ।

विकास गर्नका लागि भनेर हुने र गरेर हुने दुई प्रकारका एजेण्डा रहेको भन्दै उनले बालेन शाहले भनेकै भरमा सार्वजनिक शौचालय उपलब्ध भएको बताए । उनले पर्खनु विकल्प हुँदै होइन भन्ने नारालाई अघि सारेका छन् ।

उनले परिवर्तन आबश्यक रहेको भन्दै पर्खिन नसकिने बताए । भने, ‘परिवर्तन जरुरी छ। अब पर्खिन सकिँदैन। अहिलेको अवस्थालाई परिवर्तन गर्न सक्छौं। पर्खिनु विकल्प हुँदै होइन।’

उनलाई नेपाली फिल्मका चर्चित अभिनेता आर्यन सिग्देललगायतले समर्थन गरेका छन्।

पोखरेलको भिजन आफूलाई मन परेकाले समर्थन गरेको उनले बताए। सिग्देलले भने, ‘उहाँको उद्देश्य देखेर उत्साहित हुँदै आज कार्यक्रममा आएको हुँ। देशभरिका युवामा यस्तै उत्साह देखियोस्।’

 
 
  
 

You may also like