सैनामैना । गठबन्धनका तर्फबाट सैनामैनाको नगर प्रमुखका उमेदवार फणेन्द्रप्रसाद शर्माले आफूहरुको जीतपछि करोडौं लगानी गरेर निर्माण गरिएको सालझण्डीको सर्पदंश अस्पताल तत्कालै सञ्चालनमा ल्याउने बताउनु भएको छ ।
चुनावी सभालाई आईतवार सम्वोधन गर्दै नेपाली कांग्रेसका नेता समेत रहनु भएका उम्मेदवार शर्माले नगर प्रमुखले आफ्नो नाम ढुंगामा कुँदेर अस्पतालको उदघाटन गरेपनि सञ्चालन नगरेर जनतालाई सास्ती दिएको बताउनु भयो ।
उहाँले आफू जितेर नगरपालिकामा आएपछि तुरुन्तै सर्पदंश अस्पताल संचालनमा ल्याउने प्रतिवद्धता जनाउँदै यसअघिका जनप्रतिनिधिले बन्द गरेका सरकारी विद्यालय पनि तत्काल सञ्चालनमा ल्याउने उल्लेख गर्नुभयो ।
स्थानीय सालझण्डीका जनताको समेत लाखौं लगानी रहेको सर्पदंश अस्पताल सञ्चालन नगरेर जनप्रतिनिधिले जनताको उपचार पाउने अधिकारमाथि घात गरेको समेत शर्माले बताउनु भयो ।
उमेदवार शर्माले नेकपा एमालेले पाँच बर्ष अघि सैनामैनामा जितेपछि कर बढाएर जनतालाई ढाड सेक्ने काम गरेको बताउँदै आफूहरुले कर घटाउने प्रतिवद्धता जनाउनु भयो ।
उहाँले सरकारी स्कुलमा अंग्रेजी शिक्षाका नाममा महंगो फिस लिएर गरिवका छोरा छोरीले पढन सक्ने बाताबरण नभएको बताउँदै आफूहरु आएपछि शुल्क मिनाहा गर्ने प्रतिवद्धता जनाउनु भयो ।
कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सदस्य रामबली चौधरीले नेपाली कांग्रेसको जीत निश्चित भएको भन्दै नेता कार्यकर्तामा समेत उत्साह छाएकोले सैनामैनाका कांग्रेसको पक्षमा माहोल बनेको छ भन्नुभयो । उहाँले नेकपा एमालेको सरकारले कर बढाएर जनतालाई आहत बनाएको बताउँदै डिपिआरका नाममा भ्रष्टाचार गरेर करोडौं कुम्ल्याएको दावी गर्नुभयो ।
चौधरीले नेकपा एमालेको हार निश्चित भैसकेको बताउँदै नेपाली कांग्रेसले जितेपछि सैनामैनाको विकासमा सामूहिकरुपमा लाग्ने प्रतिवद्धता जनाउनु भयो ।
सोही कार्यक्रममा सैनामैना नगरपालिका वडा नं. ६ का उमेदवार गोपाल पोखरेलले गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गर्दै गठबन्धनले जितेमात्र यहाँको विकास हुने बताउनु भयो ।
आईतवार सैनामैनाका विभिन्न स्थानमा आयोजित चुनावी कार्यक्रममा स्थानीय जनताको बढ्दो सहभागिताले सैनामैनामा गठबन्धनको जीत निश्चित भैसकेको बताइएको छ ।