उम्मेदवारविरुद्ध परेको उजुरीमाथि आज र भोलि जाँचबुझ

काठमाडौं । यहि वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनअन्तर्गत आज र भोलि निर्वाचन आयोगले मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्नेछ ।

आयोगले हिजो उम्मेदवारको विरोधमा उजुरी दिन सकिने व्यवस्था गरेको थियो । हिजो बेलुका ५ बजेसम्म स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गराएकाहरूको विरोधमा उजुरी दिने समय ताकिएको थियो ।

भोलि (१५ गते) साँझ ६ बजे मनोनयन भएको उमेदवारको नामावली प्रकाशन गर्ने आयोगको तयारी छ । त्यस्तै, आयोगको तालिका अनुसार १६ गते साँझ ५ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिने छ । सोही दिन साँझ ५ बजे आयोगले अन्तिम नामावली प्रकाशन गर्नेछ । १७ गते चुनाव चिह्न प्रदान गर्ने आयोगको कार्यक्रम छ ।
उम्मेदवारीको यकिन विवरण संकलनमा विलम्ब
स्थानीय तह निर्वाचनका लागि मनोनयनपत्र दर्ता भएको २८ घण्टा बित्दा पनि देशभरि कति जनाको उम्मेदवारी पर्‍यो भन्ने यकिन विवरण संकलन गर्न निर्वाचन आयोग असफल भएको छ । वैशाख ३० मा हुने निर्वाचनका लागि आइतबार र सोमबार मनोनयनपत्र दर्ता समय तोकेको आयोगले मंगलबार रातिसम्म कति जनाले उम्मेदवारी दिए भन्ने यकिन विवरण संकलन गर्न सकेको छैन ।

उम्मेदवारी दिनेको यकिन विवरण बेलैमा संकलन गर्न नसक्दा आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका प्रभावित भएको छ । आयोगको कार्यसम्पादन फितलो हुँदा वैशाख ३० को निर्वाचन नै प्रभावित हुने त होइन भन्ने आशंका जन्मिएको छ ।

आयोगमा स्थानीय तहको चुनावका लागि आबद्धता जनाएका ७९ वटा राजनीतिक दलका र स्वतन्त्र गरी करिब डेढ लाख उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन् । आयोगका अनुसार उम्मेदवारको अन्तिम सूची बुधबार मात्रै सार्वजनिक हुनेछ । देशभरका महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका, गाउँपालिकाको आगामी पाँच वर्षे नेतृत्व चयनका लागि चुनाव हुँदैछ । ७५३ वटा स्थानीय तहका ३५ हजार २२१ पदमा मंगलबार राति ९ बजेसम्म १ लाख ५० हजार ४९४ जनाको उम्मेदवारी दर्ता भएको विवरण प्राप्त भएको जानकारी आयोगले दिएको छ ।

आयोगका अनुसार महानगरपालिका, उपमहानगरपालिका, नगरपालिकाको प्रमुख पदका लागि ३ हजार ४६६, उपप्रमुखमा २ हजार १३६, गाउँपालिकाको अध्यक्षमा ३ हजार ३७८, उपाध्यक्षमा २ हजार ३९२, वडाध्यक्षमा ३४ हजार ९४३, महिला सदस्यमा २६ हजार ६३, दलित महिला सदस्यमा २३ हजार ४७० र खुला सदस्यमा ५४ हजार ६४६ जनाले मनोनयनपत्रको दर्ता गरेको आयोगले जनाएको छ । उम्मेदवारको विवरण ‘अपडेट’ हुन अझै बाँकी रहेको आयोगले जनाएको छ ।

नेकपा एमालेका तर्फबाट प्रमुखमा २८८, अध्यक्षमा ४४६, उपप्रमुखमा २८३, उपाध्यक्षमा ४४५, वडाध्यक्षमा ६ हजार ४६८ जनाको उम्मेदवारी परेको छ । नेपाली कांग्रेसबाट प्रमुखमा २६३, अध्यक्षमा ३८२, उपप्रमुखमा २१०, उपाध्यक्षमा ३५९, वडाध्यक्षमा ६ हजार ७९ जनाको उम्मेदवारी दर्ता भएको आयोगले जनाएको छ । अन्य दलबाट कति उम्मेदवारी पर्‍यो भन्ने विवरण आयोगले उपलब्ध गराउन सकेको छैन ।

आयोगले समयमै उम्मेदवारको सूची प्रकाशन गर्न नसक्दा विरोधमा उजुरी दिने निर्वाचन कार्यतालिका प्रभावित बनेको छ । आयोगले वैशाख १२ मा मनोनयनपत्र दर्ता गरेपछि सोही दिनको साँझ उम्मेदवारको सूची प्रकाशन गर्ने र १३ गते उम्मेदवारको विरोधमा उजुरी दिने समय तोकेको थियो । मंगलबार उम्मेदवारको सूची नै प्रकाशित हुन नसकेपछि दाबी विरोध गर्न कठिनाइ भएको आयोगले जनाएको छ । वैशाख १४ र १५ मा मनोनयनपत्र जाँच, उजुरीउपर जाँचबुझ गरी निणर्य गर्ने कार्यक्रम तोकिएको छ । आयोगले समयमा काम गर्न नसक्दा तालिका नै प्रभावित बनेको हो ।

भौगोलिक कठिनाइका कारण हिमाली जिल्लाहरूको उम्मेदवारी दर्ता तथ्यांक आउन बाँकी रहेको आयोगले जनाएको छ । कर्णालीका कतिपय गाउँपालिकाबाट जिल्ला निर्वाचन कार्यालयमा आइपुग्न दुई दिन लाग्ने र सफ्टवेयरमा राख्न पनि समय लाग्ने भएकाले यकिन विवरण सार्वजनिक गर्न केही ढिला भएको आयोगको भनाइ छ । हुम्ला, डोल्पा, मुगुमा विकटमा पालिका छन् । हिमाली जिल्लाको तथ्यांक ‘अपडेट’ गर्न बाँकी रहेको आयोगले जनाएको छ ।

पालिकाका प्रमुख, उपप्रमुख, वडाध्यक्ष, महिला वडा सदस्य, दलित महिला वडा सदस्य र खुला दुई जना वडा सदस्य पदमा प्रतिस्पर्धा हुँदैछ । निर्वाचन आयोगले स्थानीय तहका ३५ हजार २२१ पदका लागि दुई दिन मनोनयन दर्ताको समय तोकेको थियो । सात प्रदेशका ६ वटा महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका, ४६० वटा गाउँपालिका गरी ७५३ वटा स्थानीय तहमा जनप्रतिनिधि छानिँदै छन् । देशभरका ६७ सय ४३ वडामा वडाध्यक्ष, ७७ जिल्ला समन्वय समितिमा नयाँ नेतृत्व आउँदै छन् ।

 
 
  
 

You may also like