‘निर्वाचन आचारसंहिता कसैले पनि उल्लंघन नगराैँ’-निर्वाचन आयोग

बुटवल ।निर्वाचन आयोगले रुपन्देहीमा शनिबार मिडिया अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । आयोगले तिलोत्तमा नगरपालिकास्थित मणिग्राममा कार्यक्रम गरेको हो । सातैवटा प्रदेशमा यो कार्यक्रम गरिने आयोगले जनाएको छ ।

कार्यक्रममा बोल्दै निर्वाचन आयोगका निर्वाचन आयुक्त सगुन शमशेर जबराले निर्वाचन आचारसंहिता कसैले पनि उल्लंघन गर्न नहुने बताएका छन् । उनले आचारसंहिता उल्लंघनबारे सम्पूर्ण कुरा आयोगले मात्र अनुगमन गर्न नसक्ने भएकाले उल्लघंन भए सञ्चारमाध्यमले निगरानी गरेर जानकारी गराउनुपर्ने बताए । उनले भने, ‘आचारसंहिता उल्लंघन भए मिडिया हाउसले जानकारी गराउनुपर्छ, पत्रकारिताको आचारसंहिताभित्र रहेर निगरानी गरौं । ’

उनले सुरक्षा निकाय जस्तै सञ्चार माध्यमको भूमिका महत्वपूर्ण रहेको बताए । नागरिकले सबैभन्दा बढी विश्वास मिडियाको गर्ने र मिडिया नै नागरिकमा सूचना पुग्ने पहिलो माध्यम भएकाले त्यसलाई अझ बढी विश्वस्त बनाउन उनले आग्रह गरे । उनले निर्वाचनको माहोल सिर्जना गर्न मिडियाको भूमिका महत्वपूर्ण रहेकोमा जोड दिए । आयोग संविधान ऐनमा रही नयाँ कार्य गर्न गर्न खोजीरहेको उनले बताए ।

‘निर्वाचन आयोगका क्रियाकलाप, नागरिकका विचार र दलका गतिविधिसम्मलाई अनुगमन गरेर सत्यतथ्य समाचार आउन जरुरी छ,’ उनले भने, ‘यसले आयोगलाई समेत गल्ती कमजोरी पत्ता लगाउन र सुधार्न सहज हुनेछ ।’

निर्वाचन आयोगका कानून तथा राजनीतिक दल महाशाखा प्रमुख यज्ञप्रसाद भट्टराईले निर्वाचन आचारसंहिता नैतिक र कानूनी बन्धन भएकाले त्यसमा आमसञ्चार पनि संवेदनशील हुनुपर्ने बताए ।

सूचना आयोगका पूर्व आयुक्त यशोदा तिमिल्सनाले निर्वाचनमा सञ्चारकर्मीहरू मिथ्या सूचना र दुष्प्रचारबाट बच्नुपर्ने बताइन् ।कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव विक्रम खड्काले निर्वाचन तोकिएकै मितिमा हुँदैन भन्ने भ्रम चिर्न यस्ता कार्यक्रमले सहयोग गर्ने बताए ।

निर्वाचन आयोगका उपसचिव कमल भट्टराईको सञ्चालनमा सम्पन्न कार्यक्रममा स्थानीय तह निर्वाचन, २०७९ र निर्वाचन आचारसंहिता २०७८ बारे यज्ञ प्रसाल भट्टराई, निर्वाचनमा मिथ्या सूचना, दुष्प्रचार र घृणास्पद अभिव्यक्तिको रोकथामबारे यशोदा तिमिल्सना, निर्वाचनसंग सम्बन्धित समाचार संकलन र रिपोर्टिङबारे सिर्जना अर्यालले प्रस्तुतीकरण गरेका थिए ।

 

 
 
  
 

You may also like