अमृता हत्या प्रकरण : समाचार संकलनको लागि गएका संचारकर्मीलाई प्रहरीद्वारा लाठीचार्ज

बुटवल। समाचार संकलनको क्रममा रहेका खबरकुरा डट कमका प्रबन्ध सम्पादक शरणकुमार कर्माचार्य, सम्पादक दिनेश श्रेष्ठ र ग्लोबल आवाज डट कमका समाचार प्रमुख डीबी सुस्लिङ , समतल अनलाइन डटकमका प्रवन्ध सम्पादक सन्त कुमार श्रेष्ठ र जागरण पोस्ट डटकमका सम्पादक विजय ज्ञवाली लगायत अन्य सञ्चारकर्मीलाई बुटवलमा प्रहरीले दुर्व्यवहार गरेको छ ।

रुपन्देहीको तिलोत्तमामा बुधबार राति शंकास्पद मृत्यु भएकी २९ वर्षीया अमृता खत्री टण्डनको हत्या भएको दावी गर्दै आफन्त र स्थानीयबासिन्दाले छानबिनको माग राखेर प्रहरी कार्यालय अघि गरेको प्रदर्शनको समाचार संकलन गर्नेक्रममा इप्रका बुटवलका वरिष्ठ सई बाबुराम घिमिरेले संचारकर्मीत्रयमाथि दुर्व्यवहार गरेका हुन् ।

अमृताका आफन्त र स्थानीय र प्रहरीबीच भएको झडपको फोटो खिच्ने क्रममा ग्लोबल आवाजका सुस्लिङको मोवाइल खोस्दै हातपात गर्न खोज्दै घिमिरेले डिलिटको दबाब दिएका थिए । सोही क्रममा खबरकुराका प्रबन्धसम्पादक कर्माचार्यले हामी संचारकर्मी हौं झडपको फोटो खिचेको भन्दै सूचना विभागको प्रेस पास देखाउँदा देखाउँदै गर्दा कसैलाई चिन्दैनौं भन्दै घिमिरे जाइलागेका थिए । उनले कर्माचार्यको कठालो समात्दै कुटपिटको प्रयास गर्नै लाग्दा अर्को एक प्रहरी आएर छुटाएका थिए ।त्यस्तै सन्चारकर्मी सन्त कुमार श्रेष्ठलाई लाठिचार्ज भएको थियो ।  उत्रिएका सहभागीले ‘अमृतालाई न्याय देऊ’ नारा लेखिएका प्लेकार्ड प्रदर्शन गर्दै तिलोत्तमाको जानकीनगरबाट इप्रका बुटवल पुगेर नाराबाजी गरेका थिए । त्यसक्रममा प्रहरील प्रदर्शनकारीबीच केहीबेर झडप भएको थियो ।

बुधबार राति माइतीघर जानकीनगरमा रहेकी अमृतालाई पटकपटक फोन गरी घरमा बोलाएको एक घण्टा नवित्दै उनको मृत्यु भएको माइती पक्षले दाबी गरेको छ । प्रदर्शनकारीले अमृताको हत्या भएको दाबी गर्दै त्यसमा उनको श्रीमान मात्र नभएर घरका अन्य परिवार पनि रहेको दाबी गरेका छन् ।

 
 
  
 

You may also like