यस्तो छ मंगलबारसम्मको मौसम पूर्वानुमान

काठमाडौं । अहिले नेपालमा भारतको बिहारदेखि बङ्गालको खाडीसम्म रहेको न्यून चापीय रेखा र स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ ।

आज (आइतबार) प्रदेश-१, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य भू-भागमा आंशिक बदली रहने छ । प्रदेश-१, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागका केही स्थानमा र मधेस प्रदेश तथा लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै सोमबार पनि प्रदेश-१ मा आंशिकदेखि सामान्य बदली र बागमती प्रदेश तथा गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश-१ को पहाडी भू-भागका थोरै र बागमती प्रदेश तथा गण्डकी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

यस्तै मंगलबार देशको पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागको मौसम सामान्यतया सफा रहने छ । प्रदेश-१, बागमती प्रदेश तथा गण्डकी प्रदेशको पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

तराई भू-भागमा तापक्रम बढ्ने क्रममा रहेकाले सतर्क हुन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । विभागले गर्मीका कारण हुनसक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध छ ।

 

 
 
  
 

You may also like