अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन पृथ्वीमा ठोक्किन सक्ने चेतावनी

एजेन्सी । रुस–युक्रेनबीच चलिरहेको युद्धले अन्तरग्रह अनुसन्धान र भू–उपग्रहहरूको प्रक्षेपण दुवै प्रभावित बनेका छन् ।

बीबीसीका अनुसार रुस र पश्चिमा देशको सहकार्यमा जारी अन्तरिक्ष अन्वेषण सम्बन्धी परियोजना धरापमा परेको हो । त्यस्तै अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा समेत फाटो आउने सम्भावना प्रबल बनेको बीबीसीले उल्लेख गरेको छ । सन् २००० यता आईएसएस सञ्चालनमा रुस र अमेरिकाले मुख्य भूमिका खेल्दै आए पनि द्धिदेशीय युद्धको विषयलाई लिएर आईएसएसबारे आरोप प्रत्यारोपको शृङ्खला बढ्दै गएको छ ।

रुसमाथि लगाइएको बन्देजका कारण अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन पृथ्वीमा ठोक्किन सक्ने चेतावनी दिएसँगै समस्या अझ बढेर गएको रुसी अन्तरिक्ष निकाय रसकोसमसका प्रमुख डिमित्री रोगोजीन बताउँछन् । रुसले स्टेशनको प्रपल्सन प्रणालीको संवेदनशील पक्षलाई नियन्त्रण गर्ने भएकाले पृथ्वीको वायुमण्डलतर्फ केन्द्रका संरचनाहरू तानिनबाट रोकिनेछ । यसैबीच, अमेरिकी कम्पनीहरूलाई रुसले रकेट इन्जिनहरूको आपूर्ति गर्ने बन्द गर्ने भएको छ । यी दुई देशबीच शीतयुद्धका बेलामा पनि अन्तरिक्ष सम्बन्धी मामिलामा दशकौँदेखि आपसी सहकार्य हुँदै आएको छ ।

युद्ध सुरु भएसँगै रुसी र युरोपेली अन्तरिक्ष केन्द्रबीच विगतमा भएका समझदारीहरू स्थगन या निलम्बनमा परेका छन् । यस्तै युरोपेली अन्तरिक्ष निकायले अन्तरिक्षसम्बन्धी कार्यक्रम अनिश्चितकालका लागि स्थगित गरेको बीबीसीमा उल्लेख छ । आफ्ना सदस्य राष्ट्रले रुसलाई लगाएको बन्देजको युरोपेली अन्तरिक्ष निकायले समर्थन जनाएको छ ।

 
 
  
 

You may also like