अन्तिम मतदाता नामावली : एक करोड ७७ लाख ३३ हजार ७२३ जना, महिला भन्दा पुरुष बढी

काठमाडौं । आउँदो स्थानीय तहको निर्वाचनमा एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाताले मतदान गर्न पाउने भएका छन् । निर्वाचन आयोगको आइतबार बसेको बैठकले मतदाताको अन्तिम नामावली टुंग्याएको हो ।

आयोगका अनुसार महिलाभन्दा पुरुष मतदाता धेरै रहेका छन् । आयोगले टुंग्याएको अन्तिम मतादाता नामावलीअनुसार, पुरुष ८९ लाख ९२ हजार १० छन् । त्यस्तै, महिला ८७ लाख ४१ हजार ५३० जना रहेका छन् ।

आयोगका अनुसार सबैभन्दा बढी मतदाता मोरङमा ७ लाख १५ हजार २२३ जना र सबैभन्दा कम मनाङमा ६ हजार ४९६ मतदाता छन् । आयोगले ७५३ वटै स्थानीय तह र ७७ वटै निर्वाचन कार्यालयको समन्वयमा अन्तिम मतदाताको सूची तयार पारेको हो ।

अन्तिम नामावली प्रकाशन भएपछि सूचीबाट नाम हेरफेर गर्न नपाइने आयोगले जनाएको छ । चुनावको अघिल्लो दिन वैशाख २९ सम्म १८ वर्ष पुगेकालाई भने मतदाता नामावलीमा नाम भएका खण्डमा मतदान गर्न दिने तयारी आयोगले गरेको छ ।
मतदानस्थल र मतदान केन्द्रको लाग्यो टुङ्गो
निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि मतदानस्थल र मतदान केन्द्रको टुङ्गो लगाएको छ । आज (आइतबार) बसेको आयोगको बैठकको निणर्यअनुसार १० हजार ७५६ मतदानस्थल रहने छन् । मतदान केन्द्र भने २१ हजार ९५५ हुने निणर्य गरेको एक आयुक्तले बताए ।

 
 
  
 

You may also like