गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिरा एयरवेजले नियमित उडान गर्ने

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कुवेतकोे जजिरा एयरवेजले पहिलो व्यावसायिक उडान भर्ने भएको छ ।

जजिराले आगामी जेठ २ गते (बुद्ध जयन्ती) देखि नियमित उडान गर्नेगरी नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणमा निवेदन दिएको छ । प्राधिकरणका उपमहानिर्देशक देवचन्द्रलाल कणर्का अनुसार जजिराले दैनिक एक नियमित उडान गर्नेगरी निवेदन दिएको छ ।

जजिराले कुवेत-भैरहवा-कुवेत सिधा उडान गर्नेछ । जजिराले हाल काठमाडौंमा समेत नियमित उडान गरिरहेको छ । हालै यान्त्रिक परीक्षण उडान ‘क्यालिब्रेसन फ्लाइट’ सम्पन्न भएको गौतमबुद्ध विमानस्थलमा आगामी वैशाख १ गते नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले परीक्षण उडान गर्नेछ ।

उपमहानिर्देशक कणर्ले गौतमबुद्ध विमानस्थलमा वैशाख १ गते परीक्षण उडान भएपछि वैशाख ७ गतेबाट व्यवसायिक अन्तर्राष्ट्रिय उडान खुला गरिने जानकारी दिए । उनले व्यावसायिक उडानका लागि आवश्यक सम्पूणर् तयारी पूरा भएको पनि बताए । रासस

 
 
  
 

You may also like