सकियो करमा आधारित लेखा तालिम

बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले सञ्चालन गरेको करमा आधारित लेखा तालिम सकिएको छ । आफ्ना सदस्य उद्योगी व्यवसायीका प्रतिष्ठानमा काम गर्ने लेखापालहरुको लागि आयोजना गरिएको तीन दिने तालिम शनिबार सकिएको हो ।

तीन दिनसम्म सञ्चालन गरिएको तालिममा संघका राजश्व परामर्शदाता सिए हरि लम्साल र अर्का सिए प्रताप कर्माचार्यले आर्थिक ऐन तथा करमा आधारित लेखा विधिका विषयमा प्रशिक्षण गर्नुभएको थियो ।

तालिमको समापन कार्यक्रममा बोल्दै संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले लेखापालहरुलाई काममा अझै सहज हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले आगामी दिनमा पनि यसप्रकारका तालिम कार्यक्रम निरन्तर रुपमा सञ्चालन गर्ने बताउनु भयो ।

त्यस्तै संघका परामर्शदाता सिए हरि लम्सालले तालिममा सिकेका कुरालाई व्यवहारिक प्रयोगमा ल्याउन सके त्यसले स्वयम् लेखापाल र प्रतिष्ठानलाई पनि राम्रो हुने बताउनु भयो ।

कार्यक्रममा संघका उद्योग उपाध्यक्ष टंकप्रसाद गैरे, महासचिव बिमलराज भट्टराई, प्रशिक्षार्थी शोमाली गुरुङ लगायतले भनाई राख्नुभएको थियो । तालिममा १८ जना सहभागि थिए । उनीहरुले तालिम उपलब्धिमुलक रहेको र आगामी दिनमा पनि यसप्रकारका तालिम सञ्चालन गर्न आग्रह गरेका थिए ।

 

 
 
  
 

You may also like