रुस-युक्रेन युद्ध : यी हुन् सम्भावित पाँच नतिजा

काठमाडौं । युद्धको कुहिरोमा हुँदा अगाडिको बाटो हेर्न गाह्रो हुन सक्छ। रणभूमिबाट आउने समाचार, देश-देशको वाक्प्रचार, घरबारविहीन जनताको पीडा, यी सबैको कोलाहलले तपाईंलाई युद्धको समयमा घेरिरहेको हुन्छ । त्यसो भए केही समय रोकिएर हेरौं कि राजनीतिज्ञ र सैन्य योजनाकारहरूले यो सम्पूर्ण संकटको के सम्भावित समाधानहरू हुन सक्छन् भनेर सोचिरहेका छन् ? केही समाधानहरू बढी व्यावहारिक देखिन्छन् भने केहीको कम सम्भावना देखिन्छ ।

१. युद्ध चाँडै समाप्त होस्
यस सम्भावनामा रुसले आफ्नो आक्रमणलाई तीव्र पार्न सक्छ, जसले विनाशकारी परिणाम ल्याउन सक्छ । बम विस्फोट, मिसाइल आक्रमण र साइबर आक्रमणहरू कीभ वरिपरि बढ्न सक्छ । ऊर्जा, आपूर्ति र सञ्चारका माध्यमहरू काटिन सक्छन् । हजारौं मानिसको ज्यान जान सक्छ ।

यस्तो अवस्थामा पूर्ण बहादुरी देखाए पनि केही दिनमा कीभ रुसको नियन्त्रणमा आउन सक्छ । त्यहाँ रुसद्वारा नियन्त्रित कठपुतली सरकार गठन हुनेछ । युक्रेनका राष्ट्रपति जेलेन्स्की या त मारिने छन् वा देशको पश्चिमी भागमा पलायन हुन सक्छन् वा निष्काशित सरकार गठन गर्न देश छाडेर भाग्न सक्छन् ।

यस्तो अवस्थामा राष्ट्रपति पुटिनले विजयी घोषणा गरेर आफ्नो केही सेनालाई फिर्ता लिन सक्छन् । यद्यपि, युक्रेनमाथि नियन्त्रण कायम गर्न केही सेनाहरू त्यहाँ छोड्न सक्छन् । युक्रेनबाट हजारौं मानिसहरूको पलायन जारी रहनेछ र युक्रेन, बेलारुस जस्तै, रुसको सहयोगी बन्छ । तथापि, यसो गर्न समेत असम्भव छैन तर यो अन्य थुप्रै परिस्थितिहरूमा निर्भर हुन्छ । अनि त्यहाँ कठपुतली सरकार अस्थिर मात्र नभई विद्रोहको डर पनि हुनेछ ।

२. युद्ध लामो समयसम्म रहे
यो लडाइँ लामो समयसम्म चल्ने सम्भावना धेरै हुन्छ । रुसको सेना युक्रेनमा फस्न सक्छ, सिपाहीहरूको मनोबल गिर्न सक्छ र आपूर्ति समस्या उत्पन्न हुन सक्छ । त्यहाँका रक्षकहरूले सडकको तहसम्म संघर्ष गर्दा रुसले कीभ जस्ता सहरहरूमाथि कब्जा गर्न निकै समय लाग्न सक्छ । यो लडाइँ सन् १९९० मा द चेचन्याको राजधानी ग्रोज्नीमाथि कब्जा गर्न रुसको लागि लिएको समय र क्रुर संघर्षको सम्झना हुनसक्छ ।

रुसले पनि आफ्नो नियन्त्रणमा रहेका सहरहरूमाथि नियन्त्रण कायम राख्न सङ्घर्ष गर्न सक्छ । समय बित्दै जाँदा युक्रेनी सेना सङ्गठित भएर प्रभावशाली विद्रोह सुरु गर्न सक्छन् । रूसमा यति ठूलो इलाकामा फौज पठाउन गाह्रो हुन सक्छ । पश्चिमी देशहरूले युक्रेनलाई हतियार दिइरहने छन् । अनि सायद धेरै वर्षपछि, सम्भवतः नयाँ नेतृत्व रूस आइपुग्दा रुसी सेनाले अफगानिस्तानमा जस्तै युक्रेन छोडेर जान सक्छ । सन् १९७९ देखि सन् १९८९ सम्म सोभियत संघले अफगान विद्रोहीसँग युद्ध गरेपछि थाकेर अफगानिस्तान छोड्नु परेको थियो ।
३. युद्ध युरोपमा फैलिन सक्छ

यो युद्ध युक्रेनबाट बाहिर पनि फैलिने डर छ । राष्ट्रपति पुटिनले सोभियत युगका थप भाग कब्जा गर्न मोल्डोभा र जर्जिया जस्ता भूतपूर्व सोभियत देशहरूमा फौज पठाउन सक्छन् । यी देशहरू नेटोको भाग होइनन् । त्यसैले यो गलत अनुमान हुन सक्छ ।

पुटिनले नेटो सदस्य रहेका बाल्टिक देशमा फौज पठाउने धम्की दिन सक्छन् । तर यो एकदमै भयानक हुन सक्छ र नेटोसँग युद्धको खतरा बढाउन सक्ने छ । किनभने नाटोको धारा ५ अनुसार नेटो सदस्यमाथि भएको आक्रमणलाई सबै सदस्यहरूमाथि आक्रमण को रूपमा लिइन्छ ।

यदि पुटिनले आफ्नो नेतृत्व बचाउने एक मात्र तरिका यहि हो भन्ने महसुस गरेमा उनले त्यसो गर्न सक्छन् । हामीलाई थाह छ, तिनीहरू लामो समयदेखिको अन्तर्राष्ट्रिय मापदण्ड तोड्न चाहन्छन् । आणविक हातहतियारको प्रयोगबारे पनि यही कुरा लागू हुन्छ । तथापि, विशेषज्ञका अनुसार आणविक आक्रमण हुने सम्भावना एकदमै कम छ ।

तर यदि पुटिनले आफ्नो नेतृत्व बचाउने एक मात्र तरिका यही हो भन्ने सोच्छन् भने उनले जोखिम उठाउन सक्छन् । यदि उनले कुनै न कुनै तरिकामा युक्रेनमा पराजयजस्तो परिस्थितिको सामना गर्नुपऱ्यो भने उनी त्यहाँबाट अघि बढ्न सक्छन् । यस हप्ता उनले आफ्नो आणविक शक्तिलाई सतर्क रहन निर्देशन दिएका थिए । तथापि, अधिकांश विश्लेषकहरू हाल यसको प्रयोगप्रति शङ्का गर्छन् ।

४. कूटनीतिक समाधान हुन सक्छ ?

सबै परिस्थितिको बाबजुद के अझै पनि सम्भाव्य कूटनीतिक समाधान पाउन सकिन्छ ? संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले भनेका छन्, ‘लडाइँ चलिरहेको छ, तर वार्ताको बाटो सधैँ खुला रहन्छ ।’ कुराकानी पनि चलिरहेको छ । फ्रान्सेली राष्ट्रपति म्याक्रोँले पुटिनसँग फोनवार्ता गरे । विश्वभरका नेताहरूको कुरा रुसलाई पुर्‍याइँदैछ । रुसी तथा युक्रेनी अधिकारीहरू बेलारूसको सिमानामा भेला भएका छन् । कुरा धेरै अघि नबढेपनि वार्ताका लागि तयार भएर पुटिनले कम्तीमा पनि युद्धविरामको सम्भावनालाई स्वीकार गरेको देखिन्छ ।

रुसको लागि यो युद्धको एकदमै नराम्रो नतिजा भयो भने के हुनेछ, अब विचार गर्नुहोस् । युद्धस्थलबाट शवहरू रुसमा आइपुग्दा देशभित्र विरोध बढ्ने छ । त्यसैले यो युद्ध अन्त्य गर्ने भन्दा जारी राख्नु नेतृत्वको लागि ठूलो खतरा हुन सक्छ भन्ने आँकलन गर्न सक्छ । साथै, चीनले हस्तक्षेप गर्न सक्छ र पुटिनलाई आक्रमण गर्न बन्द गर्न सक्छ र उनीमाथि सम्झौताको बारेमा कुरा गर्न दबाब दिन सक्छ । साथै, चीनले रुसबाट तेल र ग्याँस खरिद नगर्ने उनले भन्न सक्छन् । त्यसपछि पुटिनले नयाँ बाटो खोज्नु पर्नेछ ।

त्यतिञ्जेल, युक्रेनी अधिकारीहरूले आफ्नो देशमा भइरहेको विनाशलाई ध्यानमा राख्दै मानिसहरूको यस डरलाग्दो विपत्तिभन्दा राजनैतिक समाधान राम्रो हो भन्ने निष्कर्षमा पुग्न सक्छन् । त्यसैले कूटनीतिक पहलद्वारा यी समाधान हुनेछन् ।

अर्कोतर्फ, युक्रेनले क्राइमिया र डोनबासका केही भागमाथि रुसको सार्वभौमिकतालाई स्वीकार्छ भन्ने मानौं । यसको बदलामा पुटिनले युक्रेनको स्वतन्त्रता र युरोपसँगको सम्बन्धलाई स्वीकार्न सक्छन् । यो सम्भावना छैन जस्तो देखिन्छ । तर यसो गर्न समेत असम्भव छैन, रक्तपातपूणर् द्वन्द्वको भग्नावशेषबाट पनि यस्तो अवस्था आउन सक्छ ।

५. त्यसो भए पुटिन सत्ताबाट निकालिने छन् ?

अनि त्यसपछि पुटिनको के हुनेछ ? जब उनले आक्रमणको घोषणा गरे, उनले उद्घोष गरेका थिए ‘हामी कुनै पनि नतिजाको लागि तयार छौं ।’ तर यस नतिजाबाट उनी सत्ताच्यूत हुने बाटोतिर पुग्यो भने के हुन्छ ? यो असम्भव लाग्न सक्छ । यद्यपि, संसारमा देखिएका तीव्र परिवर्तनहरूले यसबारे पनि विचार गर्न सकिन्छ ।

किङ्स कलेज लण्डनका युद्ध अध्ययनका पन्ना प्राध्यापक सर लरेन्स फ्रेडम्यानले यस हप्ता यस्तो लेखेः ‘कीभसँगै मस्कोमा पनि सत्ता परिवर्तन आउने जस्तो देखिन्छ ।’ त्यसो भए उनी कसरी यसो भन्न सक्छन् त ? सायद, पुटिनले विनाशकारी युद्धको लागि बाटो तय गरेका छन् । हजारौँ रुसी सिपाहीहरू मर्छन् । हामीले आर्थिक प्रतिबन्ध झेल्नुपर्छ । पुटिनका समर्थकहरूको सङ्ख्यामा गिरावट आउन सक्छ । विद्रोहको खतरा पनि हुन सक्छ । विपक्षीलाई दबाउन उनले रुसको आन्तरिक सुरक्षाको प्रयोग गर्न सक्छन् । तर यसले परिस्थितिलाई सुताउनुको सट्टा झनै बिगार्न सक्छ र रुसी सेना, राजनीति र आर्थिक जगतका थुप्रै प्रमुख व्यक्तिहरूले उनको विरोध गर्न सक्छन् ।

पुटिनको ठाउँमा उदारवादी नेता सत्तामा आएमा रुसमा प्रतिबन्ध हट्ने र सामान्य कूटनीतिक सम्बन्ध पुनर्स्थापित हुने पश्चिमले स्पष्ट गरिसकेको छ । त्यसैले यसले विद्रोह पनि हुन सक्छ । तर त्यो अहिले नै सम्भव देखिँदैन । तर उनीसँग रहेकाहरूले नै अब पुटिन उनीहरूको हित रक्षा गर्न असक्षम छन् भन्ने महसुस गर्न थाले भने त्यस्तो सम्भावना अकल्पनीय पनि छैन ।

निष्कर्ष

माथिका दृष्यहरू फरक-फरक हुँदैनन् । यदि यी जोडिए भने फरक नतिजा पनि आउन सक्छ । तर जब यो लडाइँ चलिरहेको छ, संसार पनि परिवर्तन भएको छ र परिस्थिति पहिलेको जस्तो छैन । रुसको सम्बन्ध बाँकी देशसँग फरक हुनेछ । सुरक्षालाई लिएर युरोपेली देशको दृष्टिकोण परिवर्तन हुनेछ । बीबीसी हिन्दीबाट

 
 
  
 

You may also like