युद्धग्रस्त युक्रेनबाट म्याग्दीका तीन जनाको उद्धार

काठमाडौं । युद्धग्रस्त मुलुक युक्रेनको राजधानी किएभमा फसेका म्याग्दीका तीन जनाको उद्धार गरी पोल्यान्डमा लगिएको छ । रुस र युक्रेनबीचको लडाइँ चर्किंदै गएपछि युक्रेनको राजधानी किएभमा रहेका तीन म्याग्दीवासीको उद्धार गरी पोल्यान्ड लगिएको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले जनाएको छ ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष सुसन परियारले दिएको जानकारीअनुसार युद्ध प्रभावित क्षेत्रबाट उद्धार गरिएका व्यक्तिहरुमा मालिका गाउँपालिका-६ दिच्यामका अमृत पटेल, मालिका-७ बिमका तिलक सुनार र बेनी-३ भकिम्लीका नारायण पुन छन् । उनीहरुलाई पोल्यान्डमा रहेका नेपाली सङ्घ संस्थामार्फत उद्धार गरिएको जनाइएको छ ।

अध्यक्ष परियारका अनुसार दिच्यामका पटेल र बिमका सुनार गन्तव्यमा पुगिसकेको भए पनि भकिम्लीका पुन पोल्यान्डको सीमा क्षेत्रमै छन् । ‘उहाँ उद्धारकर्तासँगै हुनुहुन्छ, बिरामी हुनुहुन्छ, त्रसित भए जस्तै गर्नु भएको छ’, अध्यक्ष परियारले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन् ।

पोल्यान्डमा रहेको नेपाली सङ्घसंस्था सीमा क्षेत्रबाट नियमित उद्धारमा खटिएको उनले बताए । पासपोर्टमा भकिम्ली लेखिए पनि पुनले आफू बरञ्जा भएको बताउने गरेकाले उद्धारका क्रममा समस्या भएको उनको भनाइ छ । नेपाली कांग्रेस जनसम्पर्क समिति पोल्यान्डका सभापति भीम परियारले उद्धारको क्रम जारी रहेको बताए ।

‘म्याग्देलीको पहिचानमा जुटेका छौं, भीडभाड धेरै भएकाले उद्धार गरिएको स्थानमा पुगेपछि संख्या बढ्ने देखिएको छ’, उनले भने । रुस-युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धारका लागि नेपाली हेल्प डेस्कमार्फत उद्धारमा जुटेका छन् । उद्धार गरिएकालाई सुरक्षित स्थानमा खानपिनसहित स्वास्थ्य चेकजाँचसहितको सुविधा रहेको बताइएको छ । युक्रेन छोडेर नेपालीहरु पोल्यान्ड बाहेक स्लोभाकिया, हङ्गेरी, रोमानियाम र माल्डावामा समेत पुगेका सभापति परियारले जानकारी दिए ।

 
 
  
 

You may also like