गठबन्धनको काम चुनाव गराउने हो, निर्वाचनमा मिल्ने कि नमिल्ने अर्कै विषय : गगन थापा

पोखरा । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमसीसी अनुमोदनका विषयलाई लिएर उत्तेजनाको राजनीति चलेको आरोप लगाएका छन् । उनले कम्युनिस्टहरु धेरै भएको देशमा उत्तेजनाको राजनीतिको दोकान बढी चल्ने गरेको समेत आरोप लगाएका छन् ।

पोखरामा नेपाली कांग्रेस मादी गाउँपालिका समितिले आज (शुक्रबार) आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भने, ‘यो गबन्धनको काम चुनाव गराउने काम हो । चुनावमा मिल्छौं कि मिल्दैनौं, त्यो अर्कै विषय हो ।’

२०५६ सालमा एमाले महासचिव माधव नेपाल र कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले मिलेर सरकार बनाए पनि चुनावमा छुट्टाछुट्टै गएको थापाले स्मरण गराए । ‘अहिले नेपाली कांग्रेस, माओवादी र समाजवादी मिलेर गठबन्धन बनाउनुपर्ने आवश्यकता भयो, किन कि संविधान जोगाउन गठबन्धन चाहियो, पद्धति जोगाउनका लागि चाहियो,’ उनले भने, ‘नत्र एउटा दुर्घटना हुने भयो ।’

अब यो गठबन्धनले वैशाख ३० गते चुनाव गराउनुपर्ने थापाले बताए । ‘कोही कतै नअल्मिलिनु होला, वैशाख ३० गते स्थानीय निर्वाचन हुन्छ,’ उनले भने, ‘कांग्रेसले चुनाव गराउँछ, किन कि संविधानले हामीलाई त्यही मार्ग निर्देशन गरेको छ ।’ कुनै एउटा एमसीसीको विषय मात्रै होइन, भोलि अर्का विषय पनि आउँछ,’ उनले भने । मोबाइल, घडी र क्यामेरा बाहेकै मकै समेत बाहिरबाट ल्याउने र उपचार गर्नुपरे विदेश जानेहरुले नै अपवाफ फैलाएको उनको आरोप थियो ।

संसदको चुनाव भने मंसिरमा वा त्योभन्दा पहिला पनि हुनसक्ने उनको भनाइ थियो । अब जनताको बीचमा जाँदै गर्दा एउटा अपिल र अनुरोध लिएर जानुपर्नेमा महामन्त्री थापाले जोड दिए । ‘चेतनाको राजनीतिको पक्षमा हो कि, उत्तेजनाको राजनीतिको पक्षमा हो ?’ उनले भने’, नेपालमा उत्तेजनाको राजनीति गर्नेहरुको दोकान चल्यो, कहिले अरुणको बेलामा चल्यो, कहिले भारतको विरुद्धमा सुरुङ युद्ध गरौं भनेर चल्यो । एमसीसीको प्रकरणमा भएको यही नै हो ।’

नेपालका सबै राजनीतिक दलका नेताहरुले एमसीसीको प्रक्रिया अघि बढाएको महामन्त्री थापाले बताए । ‘राष्ट्रघाती सम्झौता छ भन्नेले यति पनि इमान राखेन कि सम्झौता मैले नै गरेर आएको हुँ, त्यो बनाएको मैले नै हो, मैले गर्दा खेरी केही त्रुटि कमजोरी भयो भनेर भनेको भए स्वीकारेछ भन्नु हुन्थ्यो,’ उनले भने, ’उल्ले ढाँटयो, ठग्यो, लुकायो, उल्ले भनेन ।’

एमसीसीको उपकरणमा कर नलाग्ने कुरा ५० वर्ष पनि त्यही हुन्थ्यो भन्ने कुरा कमरेडहरुले नभन्दिएको गुनासो थापाले गरे । ‘कमरेडले आएर के भन्दियो, यो एमसीसी आइसकेपछि प्रसारण लाइन बन्छ, एमसीए भन्ने छ, त्यो भएपछि त हाम्रो जग्गा जान्छ भन्दियो,’ थापाले भने, ‘यस्ता थुप्रै विषयहरु छन्, यो नबुझेर भनेको होइन, कस्ता मान्छेलाई जनप्रतिनिधि बनाएछौं, जुन जनप्रतिनिधिले जुन सम्झौता आफैंले हस्ताक्षर गरेर आएको छ, हस्ताक्षर गर्दै गर्दा एउटा, पढ्दै गर्दा अर्का, बुझाउँदै गर्दा अर्का हुने !’

 
 
  
 

You may also like