एमसीसी तोप र गोला भन्दा पनि खतरनाक : विप्लव

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले अमेरिकी सहायता परियोजना (एमसीसी) तोप र गोला भन्दा पनि खतरनाक भएको बताएका छन् ।

आज (शुक्रबार) आठ राजनीतिक दलले काठमाडौंमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै महासचिव विप्लवले एमसीसी कुनै विकास अनुदान नभएर विकासको नाममा आएको साम्राज्यवादी हस्तक्षेप भएको बताए ।

‘पहिला साम्राज्यवादीहरुले अगाडि अगाडि पानी जहाजमा व्यापारको लागि कपडा लिएर जान्थे र पछि पछि तोप लिएर जान्थे । कमजोर मुलुकहरुलाई हस्तक्षेप गरेर आफ्नो शासन लागू गर्थे’ उनले भने, ‘तर अहिले साम्राज्यवाद तोप लिएर जाँदैन । अगाडि सूचना प्रविधि लिएर जान्छ र पछि आणविक हतियार लिएर जान्छ । त्यसकारण यो एमसीसी तोप र गोला भन्दा पनि खतरनाक छ ।’

उनले एमसीसी साम्राज्यावादी हस्तक्षेप हो भन्ने कुरा प्रचण्ड र माधव नेपालले पनि बुझेका बताएका छन् । तर, केही थान मन्त्री, सांसद र आउँदो स्थानीय चुनावको लागि साम्राज्यवादको अगाडि घुँडा टेकेको आरोप लगाए । महासचिव विप्लवले एमसीसी कुनै पनि हालतमा लागू हुन नदिइने र खारेज गरेरै छाड्ने चेतावनी दिए । यस्तै, उनले एमसीसी संसदबाट पास भएको फागुन १५ गतेलाई पुस १ जस्तै ‘कालो दिन’ को संज्ञा दिएका छन् ।

‘जसरी पुस १ गते नेपालको इतिहासमा कालो दिनको रुपमा दर्ज भएको छ । त्यो बेला (विसं २०१७ साल) सामन्तवादले ‘कू’ गरेको घटनालाई हामीले कालो दिन भनेर बुझेका छौं । अहिले फागुन १५ गते त्यो भन्दा पनि कालो दिनको रुपमा दर्ज भएको छ । आफूलाई प्रजातन्त्रवादी भन्नेहरु, अझ कम्युनिष्ट भन्नेहरु, हँसिया हतौडाको बिल्ला भिरेकाहरुले देशलाई घात गरेका छन् ।’ उनले संसदलाई सार्वभौम भनिए पनि जनताको आवाजविरुद्ध गएर अमेरिकीहरुको भत्ता पचाउन कठपुतली भएको बताए ।

 

 
 
  
 

You may also like