आफूलाई गाली गरेको भन्दै रेखा थापाले दिइन् साइबर ब्यूरोमा उजुरी

काठमाडौं । युट्युवमार्फत आफूलाई गाली गलौज गरेको भन्दै नायिका तथा नेतृ रेखा थापाले साइबर ब्यूरोमा जाहेरी दिएकी छन् । एवान मिडिया नामक युट्युवमार्फत शर्मिला वाइवाले नायिका थापालाई गाली गलौज गरेको भन्दै उनका आफन्तले शुक्रबार साइबर ब्यूरोमा जाहेरी दिएका हुन् ।

जाहेरी परे लगत्तै आवश्यक प्रक्रिया अगाडि बढाइएको ब्यूरोका प्रवक्ता एसएसपी नविन्द अर्यालले जानकारी दिएका छन् । ‘जाहेरी परेपछि त्यो मिडियाका बारेमा बुझ्न प्रेस काउन्सिललाई पत्र पठाएका छौं, पत्रको जवाफ आएपछि कारबाही हुन्छ’, अर्यालले भने ।

प्रहरीले विद्युतीय कारोबार ऐन र गाली बेइज्जतीको कसुरमा अनुसन्धान गरिरहेको जनाएको छ । नाबालिग बलात्कार आरोपमा पक्राउ परेका अभिनेता पल शाहको पक्षमा तनहुँ प्रहरी कार्यालय अगाडि दिनहुँ नारा र प्रदर्शन हुन थालेपछि रेखाले नाबालिगको संरक्षण हुनुपर्ने धारणा राखेकी थिइन् ।

उक्त धारणापछि युट्युबमा उनीविरुद्ध अभिव्यक्ति सार्वजनिक भएका थिए । उनलाई गाली गर्ने वाइवा तनहुँ पुगेर अभियुक्त शाहको पक्षमा बोलिरहेकी छन् । रेखाले २० वर्ष मुनिका छोरीहरू बालिका भएकाले उनीहरुलाई कानुनतः सबै प्रकारको सुरक्षा र अभिभावकत्व प्रदान गर्नु पर्ने उल्लेख गरेकी थिइन् ।

‘उनीहरुको कोसँग लभ छ ? कति पटक यौन सम्पर्क भयो ? यस्ता नैतिकतावादी कुरा कानुनलाई मतलब हुनु हुँदैन’, उनले भनेकी थिइन्, ‘समाजको आडम्बर त कुरा गरी साध्य छैन । केटी मान्छे भनेपछि दुनियाँभरि कतै नभएका नैतिक मापदण्ड र हिलो छ्याप्ने चलन लज्जाजनक रूपमा नेपालमा ब्याप्त छ ।’

 
 
  
 

You may also like