सिंगो बुटवल : एक विद्यालय’ अवधारणा कार्यान्वयनमा , ४० लाख बजेट

by समतल अनलाइन

बुटवल । बुटवल उपमहानगरपालिकामा सिंगो बुटवल : एक विद्यालय अवधारणा कार्यान्वयनमा गएको छ ।

यसको सहि कार्यान्वयन भएमा अब बुटवल शैक्षिक क्षेत्रमा नमूना बन्न सक्ने छ । बुटवल उप–महानगरपालिका भरका सामुदायिक विद्यालयमा शिक्षाको समान गुणस्तर कायम गर्न तथा बुटवल नगरभित्र जुन विद्यार्थीले जुन विद्यालयमा अध्ययन गरे पनि समान गुणस्तरको शिक्षा प्राप्त गर्न सक्ने नगर प्रमुख शिबराज सुबेदीको भनाइ छ ।

मंगलबार बुटवलमा पत्रकार सम्मेलन गरेर अवधारणा कार्यान्वयनबारेमा जानकारी गराइएको हाे ।

नगरका १९ वटै वडामा रहेका विद्यालयमा शिक्षाको समान गुणस्तर स्थापित भएमा विद्यार्थी घरदेखि टाढाको अन्य वडाको विद्यालयमा गएर अध्ययन गर्न जरूरी नहुने र सबै वडामा शिक्षाको समान विकास हुदै जाने शिक्षा तथा स्वास्थ महाशाखा प्रमुख मित्रमणी खनालले जानकारी दिए ।

शिक्षामा ९ करोड बजेट मध्ये यो कार्यक्रमका लागि ४० लाख बजेट बिनीयोजन गरिएको हो ।आ.व २०७७-७८ मा बुटवल उप–महानगरपालिकाको शिक्षा कार्यनीतिमा सबै बालबालिकाहरूलाई गुणस्तरीय शिक्षाको समान अवसर उपलब्ध गराउने नीति बनाएको थियो ।आर्थिक वर्ष २०७८-०७९ को कार्यक्रम कार्यान्वयन योजना र बजेटमा पनि यो विषय समावेश गरिएको छ ।

नगरभित्रका सामुदायिक विद्यालयहरूमा भौतिक पूर्वाधार, सेवा सुविधा, शिक्षक उपलब्धता, शिक्षण विधि, नतिजा, पाठ्यक्रम, शिक्षक विकास र व्यवस्थापन, मूल्यांकन पद्धति, कक्षा सञ्चालन समय, बिदा आदिमा एकरूपता नभएकोले कुनै विद्यालयमा विद्यार्थीको उच्च उपलब्धि र कुनै विद्यालयमा न्यून उपलब्धि भएका कारण कुनै सामुदायिक विद्यालयमा विद्यार्थीहरूको अत्यधिक चाप र कुनै विद्यालयमा अत्यन्त कम विद्यार्थी भइ मर्ज हुने अवस्थामा रहेको छ ।

बुटवल उप–महानगरपालिकाअन्तर्गत ३८ वटा सामुदायिक विद्यालय रहेकोमा आधारभूत १२, माध्यमिक २२, विशेष १ र मदरसा ३ वटा रहेका छन् भने ५७ वटा संस्थागत विद्यालय छन् ।

 
 
  
 

You may also like