बुटवलको साझा हस्पिटलमा हेमोडायलासिस सेवा शुरु

by समतल अनलाइन

हरिश ढकाल
बुटवल। रुपन्देहीको बुटवलमा रहेको साझा हस्पिटलले मिर्गौला रोगीहरुका लागि मध्यनजर गर्दै तीन करोड लगानीमा हेमोडायलासिस सेवा सञ्चालनमा ल्याएको छ । मृर्गौला पीडित बिरामीहरुले नियमित डायलासिस गराउनु पर्ने र सर्वसुलभ सेवा पाउन बहिर जानुपर्दा उच्च आर्थिक व्ययभार पर्ने भएकाले निःशुल्क सेवा उपलब्ध गराउने उद्देश्यले साझाले हेमोडायलासिस सेवा सञ्चालनमा ल्याएको हो ।
डायलासिस सेवालाई पूर्ण रुपमा निःशुल्कका लागि लुम्बिनी प्रदेश सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको सहकार्यमा प्रकृया अगाडि बढाइएको साझा अस्पतालले जनाएको छ । सर्वसुलभ हेमोडायलासिस सेवा शुरु गरिएको र प्रदेश सरकारसँग सहकार्यका लागि प्रकृया अघि बढाइएको साझा हस्पिटलका अध्यक्ष गोविन्द खनालले बताए । ओम साई पाथिभरा हस्पिटल भद्रपुर झापासंगको सहकार्यमा हाल ८ वटा मेशिनबाट हेमोडायलासिस शुरु गरिएको र यसलाई बिस्तार गरि ५० पुराउने लक्ष रहेको अध्यक्ष खनालले जानकारी गराएका छन ।
नेपालमा पछिल्लो समय ब्यापक रुपमा मिर्गौलाका विरामीहरु दिन प्रतिदिन बढिरहेको सन्दर्भमा विरामीहरुलाई सुलभ उपचार दिने उद्देश्यले हेमोडायलासिस सेवा शुरु गरिएको अस्पतालका सञ्चालक डा. विनोद पराजुलीले बताए । बुटवल क्षेत्रमा नवजात शिशु सघन उपचार केन्द्र एनआईसीयू अति कम रहेकाले निकै समस्या हुने गरेको महसुस भएकाले एनआईसीयू सेवा पनि प्रारम्भ गरिएको डा. पराजुलीले बताएका छन् ।
बुटवलको श्रवणपथमा रहेको सो अस्पतालका अत्याधुनिक मेशिनहरु जडित एनआईसीयू सेवाले नवजात शिशुहरुको सघन स्वास्थ्य उपचारमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको अस्पतालले जनाएको छ । यस्तै अस्पतालले गत सोमबारदेखि नै एनआईसीयू र यूरो सर्जरी सेवा पनि शुरु गरेको छ ।
यस अस्पतालमा आईसीयू सेवा, अर्थोपेडिक तथा ट्रमा सर्जरी सेवा, न्यूरो सर्जरी सेवा, जनरल तथा ल्यापरोस्कोपी सेवा, पेडियाट्रिक सर्जरी सेवा, इएनटी सर्जरी सेवा, मेडिसिन सेवा, प्रसुति सेवा, युरो सर्जरी, रेडियोग्राफी सेवा, चौबिसै घण्टा इमर्जेन्सी सेवा लगायतका विशेषज्ञ सेवाका साथै निःसन्तान दम्पत्तिका लागि टेस्ट ट्युब बेबी सेवा पनि सञ्चालनमा रहेका छन् । आगामी दिनमा बिरामीहरुको माग र चापलाई मध्येनजर गर्दै थप सेवा बिस्तार गर्दै जाने लक्ष रहेको अस्पतालले जनाएको छ ।

 
 
  
 

You may also like