घरघरै बिरामी बिरामी, छैन परीक्षण

by समतल अनलाइन

काठमाडौं। देशभर कोरोना महामारी तीव्र रूपमा विस्तार भए पनि सामान्य रुघाखोकी ठानेर परीक्षण नगर्नेको संख्या धेरै पाइएको छ । कन्ट्रयाक्ट ट्रेसिङसमेत हुन नसकेको अवस्थामा घरघरमै कोरोनासँग मिल्दो लक्षण भएका बिरामी बढेका छन् । सक्रिय संक्रमितलाई होम आइसोलेसनमै राख्दा परिवारका अन्य सदस्य पनि संक्रमित भइरहेको विज्ञले बताएका छन् ।

मकवानपुरको दुर्गम बस्तीमा कोरोनाको लक्षण भएका बिरामी घरपिच्छे देखिन थालेका छन् । तर, उनीहरूको परीक्षण गरिएको छैन । राक्सिराङ–६ सिलिङेका चेपाङ बस्तीका रुघाखोकी, घाँटी र जीउ दुख्ने बिरामी रहेको वडाध्यक्ष सिंंहलाल चेपाङले बताए । चेपाङ समुदायको बसोबास रहेको उक्त क्षेत्रका अधिकांशले खोप लगाएका छैनन् । विशेषगरी चेपाङ बस्तीमा खोपबारे भ्रम फैलिएका कारण समस्या भएको राक्सिराङ गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख विजयकुमार कापरीले बताए । ‘गाउँपालिकाभर पहिलो खोप ४० प्रतिशतले लगाएका छन् भने दोस्रो खोप २७ प्रतिशतले मात्र लगाएका छन् ।’

यस्तै, दोलखाको शैलुङ गाउँपालिकाका एक वडाध्यक्षसहित १७ जना कर्मचारी संक्रमित भएका छन् । जसका कारण सेवा प्रभावित बनेको अध्यक्ष भरतप्रसाद दुलालले बताए ।

गण्डकी प्रदेशमा सोमबारसम्म १ हजार ५ सय १० सक्रिय संक्रमितमध्ये १ हजार ४ सय ६५ जना होम आइसोलेसनमा छन् । तीमध्ये ४५ जना अस्पतालमा छन् । होम आइसोलेसनमा बस्नेबाटै कोरोना फैलिन मद्दत पुगेको छ । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

पोखरा महानगरका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्मा पौडेलका अनुसार घरमा एक जनालाई कोरोना देखिए पुरै परिवार संक्रमित हुने क्रम बढेको छ । सामान्य रुघाखोकी ठानेर पनि परीक्षण नगर्नेको संख्या धेरै रहेको उनको भनाइ छ । ३२ वटा वडा रहेको महानगरले हाल दिनमा एक ठाउँमा मात्रै परीक्षण गरिरहेको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हाल १५ संक्रमित भर्ना भएका छन् । तीमध्ये अधिकांशको अवस्था जटिल रहेको अस्पतालका कोभिड फोकल पर्सन डा।शरद बरालले बताए । ‘ओमिक्रोनले ठूलो असर पुर्‍याउँदैन भनिए पनि हाम्रोमा आउने बिरामी गम्भीर छन्,’ उनले भने, ‘संक्रमितबाटै धेरै स्वास्थ्यकर्मीमा पनि सरेको छ ।’ लेखनाथमा रहेको प्रदेश मातहतको संक्रामक तथा सरुवा रोग अस्पतालमा रुघा, खोकीका लक्षण लिएर बिरामी आउने गरेको निर्देशक डा।विकास गौचनले बताए । ‘घरबाटै समुदायमा कोरोना फैलिरहेको छ,’ उनी भन्छन्, ‘सक्रिय संक्रमितलाई संस्थागत आइसोलेसनमै राख्नु उचित हुन्छ ।’

दैनिक संक्रमितको संख्या बढिरहँदा सहरमा भने भीडभाड उत्तिकै छ । परीक्षण गरिएकामध्ये ४० प्रतिशतभन्दा बढीमा संक्रमण देखिने गरेको छ । ‘ज्वरो र रुघाखोकीका बिरामी अत्यधिक बढे पनि परीक्षण गराउनेको संख्या न्यून छ । हामीले खोप लगाएका छौं, ओमिक्रोनको प्रभाव धेरै छैन भन्ने देखिए,’ जिल्ला स्वास्थ्य कार्यालय प्रमुख एकनारायण लम्सालले भने ।

पश्चिम नवलपरासीमा घरघरमै कोरोनासँग मिल्दो लक्षण भएका बिरामी छन् । तर परीक्षण बढाउनेतर्फ स्थानीय तह, स्वास्थ्य कार्यालय र प्रशासनको ध्यान पुगेको छैन । पहिलो र दोस्रो लहरका बेला स्थानीय तहले आफ्नै खर्चमा धमाधम कोरोना परीक्षण गर्ने, आइसोलेसन सञ्चालन गरेका थिए । जनप्रतिनिधि र मातहत कर्मचारीबाहेकको पीसीआर परीक्षण गराएका छैनन् । कर्मचारीमा संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासनले ६ दिनका लागि सोमबारदेखि सेवा बन्द गरेको छ । नागरिकता, राहदानी, प्रतिलिपि, राष्ट्रिय परिचय पत्रलगायत सेवा बन्द गरिएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले बताए ।

रूपन्देहीको बेलहिया नाकामा एन्टिजेन परीक्षण जारी रहेको स्वास्थ्य कार्यालय प्रमुख गौरव ढकालले बताए । भारतबाट आउँदा संक्रमण पुष्टि भएकालाई होम आइसोलेसनमा बस्न पठाइएको उनले जानकारी दिए । ‘स्थानीय तहले ती संक्रमितको निगरानी गरिरहेका छन्,’ उनले भने, ‘ट्रेसिङ र परीक्षण पालिकामा सुरु भएको छ ।’

बाँकेका तीनवटा ल्याबमा परीक्षण गर्न आएकामध्ये आधाभन्दा बढीमा संक्रमण पाइएको छ । अहिले दैनिक २ सयको हाराहारीमा संक्रमण पुष्टि भइरहेको प्रयोगशालाले जनाएका छन् । जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकल पर्सन तेजबहादुर वलीका अनुसार जिल्लामा अहिले १ सय ९० जना सक्रिय संक्रमित छन् । जसमा ८० प्रतिशत नेपालगन्ज उपमहानगरपालिकाभित्रका हुन् ।

भेरी अस्पतालमा १५ जना संक्रमितको उपचार भइरहेको छ । चिकित्सक खगेन्द्रजंग शाहले दीर्घ रोगीको उपचार भइरहेको बताए । उनले भने, ‘निमोनिया र अक्सिजन कम हुने समस्या कम छ, इन्फेक्सन सबैलाई देखिएको छ ।’

पछिल्लो एक सातायता पाल्पामा पनि संक्रमण बढेको छ । स्थानीय तहका स्वास्थ्य शाखाले पालिका केन्द्रमा राखेको एकै दिनको परीक्षणमा ७८ जना पोजिटिभ देखिएका छन् । जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकले १० वटै स्थानीय तह, पाल्पा र रामपुर अस्पताललगायत स्थानमा कोभिड परीक्षण सहज बनाउन निर्देशन दिए पनि स्थानीय तहले सहज ढंगले परीक्षण अझै सुरु गरेका छैनन् । परीक्षणको दायरा बढाउन समन्वय भइरहेको स्वास्थ्य कार्यालयका क्षयकुष्ठ अधिकृत विश्वनाथ न्यौपानेले बताए । पछिल्लो दिन संक्रमण बढेपछि मेला–महोत्सव र भीडभाडका कार्यक्रममा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले बताए ।

जनशक्ति अभाव भएपछि बर्दिया जिल्ला अस्पताल गुलरियामा संक्रमितका लागि निर्माण गरिएको भवन सञ्चालनमा समस्या आएको छ । २५ बेडको कोरोना अस्पतालमा २५ जना स्टाफ नर्सको आवश्यकता छ । अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट सुभाष पाण्डेयले तत्काल स्टाफ नर्ससहित १० जना चिकित्सक र एक जना आईसीयूका लागि विशेषज्ञ चिकित्सकको आवश्यकता रहेको बताए ।

रुकुमपूर्वको सिस्ने गाउँपालिका अध्यक्ष, उपाध्यक्षसहित केही कर्मचारीलाई संक्रमण भएपछि दैनिक कामकाज प्रभावित भएको छ । रोल्पामा पनि स्वास्थ्यकर्मी र जनप्रतिनिधि संक्रमित भएका छन् । जिल्ला अस्पतालमा कार्यरत चिकित्सकसहितका आधा दर्जन बढी स्वास्थ्यकर्मीमा संक्रमण देखिएको अस्पतालले जनाएको छ । एक चिकित्सकका अनुसार संक्रमण नदेखिएका स्वास्थ्यकर्मीबाटै अस्पतालको सेवा प्रवाह गर्ने व्यवस्था मिलाइएको छ । रोल्पा अस्पतालका सूचना अधिकारी कुलबहादुर डाँगीले सबैलाई स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न आग्रह गरे ।

 
 
  
 

You may also like