प्रदेश २स् नाम मधेश प्रदेश, राजधानी जनकपुरधाम

by समतल अनलाइन

काठमाडौँ । प्रदेश २ ले आफ्नो कार्यकालको अन्तिम चरणमा प्रदेशको नाम र राजधानी टुंगो लगाएको छ । सोमबार बसेको प्रदेश सभा बैठकले दलहरुबीच सहमति हुन नसकेपछि मतदान प्रक्रियाबाट राजधानी जनकपुरधाम र प्रदेशको नाम मधेश प्रदेश हुने टुंगो लगाएको हो ।

नामाकारण सम्बन्धमा मधेस प्रदेशको पक्षमा भएको मतदानमा ८० मत परेको थियो भने विपक्षमा १९ मत परेको थियो । मतदान प्रक्रियामा ९९ सांसदले भाग लिएका थिए । १०४ सदस्यीय प्रदेशसभामा दुई तिहाइ बहुमतका लागि ७० मत आवश्यक पर्छ ।

प्रदेशको नाममा चारवटा नाम प्रस्ताव भएका थिए । जसमा मधेश प्रदेश, जानकी प्रदेश, मिथिला भोजपुरा प्रदेश र मध्य प्रदेश रहेका थिए ।

पहिलो प्रस्ताव दुईतिहाई मतले पारित भएपछि अन्य प्रस्तावहरु खारेज भएका छन् । मधेश केन्द्रित दल जसपा, लोसपा र माओवादी केन्द्र मधेश प्रदेशको पक्षमा लागेका थिए भने कांग्रेस मिथिला भोजपुरा र नेकपा एमालेले जानकी प्रदेश हुनुपर्ने अडानमा थिए ।

यसअघि सोमबार नै प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम भएको छ ।सोमबार सम्पन्न मतदानमा प्रदेश सांसद परमेश्वर शाहले पेश गरेको प्रस्तावको पक्षमा ७८ मत परेपछि प्रदेशको राजधानी जनकपुरधाम भएको हो ।

प्रदेश सभामा भएको निर्वाचनमा जनकपुरको पक्षमा ७८ मत खसेको हो । जुन दुई तिहाइ बहुमत छ । विपक्षमा २१ मत परेको थियो । १०४ सदस्यीय प्रदेशसभामा दुई तिहाइ बहुमतका लागि ७० मत आवश्यक पर्छ ।

 
 
  
 

You may also like