काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आउँदो माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने सिसिएमसीको निणर्य कार्यान्वयनमा पठाउने भएको छ ।
मन्त्रालयमा सोमबार बसेको बैठकले कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) ले गरेको सिफारिस कार्यान्वयनमा पठाउने निणर्य गरेको शिक्षा मन्त्रालयका सहसचिव तथा प्रवक्ता दीपक शर्माले जानकारी दिए ।
‘हामीले अरु थप निणर्य गरिरहनु पर्दैन, सीसीएमसीको निणर्य कार्यान्वयनका लागि पठाउने हो, त्यही निणर्य भएको छ’, प्रवक्ता शर्माले भने, ‘ बन्दको मोडालिटीबारे मन्त्रालयले केहीबेरमा सूचना जारी गर्दैछ ।’ शिक्षा सचिवको नेतृत्वमा सोमबार बिहान बसेको बैठकले विद्यालय बन्दको मोडालिटीबारे छलफल गरेको थियो । आइतवार बसेको सीसीएमसीको बैठकले कोरोनाको जोखिम बढेको भन्दै माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सिफारिस गरेको थियो ।
बिदाकै अवधिमा १२ देखि १७ वर्षसम्मका विद्यार्थी र १८ वर्षभन्दा माथिका सबै उमेर समूह र पूर्ण खोप लगाउन बाँकी शिक्षक, कर्मचारी तथा अभिभावकलाई खोप उपलब्ध गराउन पनि सिफारिस गरिएको छ । विद्यालय बन्दको मोडालिटीसहितको पूर्ण जानकारीसहितको सूचना मन्त्रालयले जारी गर्ने तयारी गरेको छ ।
विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानका पूर्वनिर्धारित सेमेस्टर र वार्षिक परीक्षा जनस्वास्थ्य र सुरक्षाका मापदण्ड पालना हुने गरी सञ्चालन, परीक्षा केन्द्रमा मास्क र सेनिटाइजरको प्रयोग र भौतिक दूरीको प्रावधान कडाइका साथ परिपालना गराउने व्यवस्था मिलाउन शिक्षा मन्त्रालयसमक्ष सिफारिस गरिएको थियो ।