बालकोटमा प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच एक घण्टा ‘वान टु वान’ वार्ता

by समतल अनलाइन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आज (शनिबार) बिहान भक्तपुरको बालकोटस्ठित ओली निवासमा दुई जनाबीच ‘वान टु वान’ वार्ता भएको हो ।

भेटमा संसद अवरोध, एमसीसीलगायत विषयमा छलफल भएको छ । देउवाले संसद अवरोध हटाउन र एमसीसी संसदबाट अनुमोदनका लागि सहयोग गर्न आग्रह गरेको बताइएको छ । ओलीलाई भेट्न देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सँगै बालकोट जाने तय भए पनि दाहाललाई कोभिड संक्रमण भएपछि देउवा एक्लै गएका हुन् ।

नेकपा एमालेले भदौ २३ गतेदेखि लगातार संसद अवरोध गर्दै आएको छ । आफ्ना १४ सांसदलाई निष्कासनको कारबाही गरेर संसदलाई जानकारी गराउँदा सभामुख अग्निप्रसाद सापकोटाले त्यसलाई मान्यता नदिएको भन्दै एमालेले २३ भदौदेखि लगातार संसद अवरोध गर्दै आएको छ ।

ओलीका प्रेस संयोजक रामशरण बजगाईंले दुई जनाबीच करिब एक घण्टा एक्लाएक्लै भेटवार्ता भएकाले के कुराकानी भयो भन्ने थाहा नभएको बताए । शुक्रबार बसेको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले संसद् अवरोध र न्यायालयको समस्याबारे प्रधानमन्त्री देउवालाई ओलीसँग वार्ता गर्न आग्रह गरेको थियो । यसअघि समितिका संयोजक समेत रहेका कांग्रेस नेता रामचन्द्र पौडेल बालकोट पुगेर ओलीसँग कुरा गरेका थिए ।

 
 
  
 

You may also like