सिंहदरबारभित्रै ‘कामचोर’ कर्मचारी

by समतल अनलाइन

काठमाडौं । मुलुकको प्रमुख प्रशासनिक निकाय सिंहदरबारभित्रै निजामती कर्मचारीहरू अत्यधिक रूपमा कामचोर देखिएका छन् ।

समयमै कार्यालय नआउने र आए पनि हाजिर गरेर टाप कस्ने प्रवृत्ति मौलाउँदो छ । माथिल्लो तहबाट सशक्त अनुगमन नहुँदा कर्मचारीमा कुनै त्रास देखिँदैन । यस्तै समस्या अन्य सरकारी कार्यालयमा पनि छ ।

कर्मचारीमा कामचोर प्रवृत्ति मौलाउँदै जान थालेपछि प्रधानमन्त्री मातहत रहेको राष्ट्रिय सतर्कता केन्द्रले मंगलबार सिंहदरबारभित्रका विभिन्न मन्त्रालयमा आकस्मिक छड्के जाँच गरेको छ ।

छड्के जाँचका क्रममा सयौं कर्मचारी बिनाजानकारी अनुपस्थित रहेको पाइएको हो । सतर्कता केन्द्रका अनुसार मन्त्रालयका कर्मचारीहरूले नै नियमको पालना नगर्ने गरेको पाइएको छ । केन्द्रले कार्यालय समयमा गरेको अनुगमनका क्रममा निम्नदेखि उच्च तहका कर्मचारीले अनुशासन उल्लंघन गरेको पाइएको हो ।

केन्द्रले बिहान १०ः१५ बजे नौवटा मन्त्रालयमा गरेको छड्के अनुगमनका क्रममा समयको पालना नगर्ने, बिदा स्वीकृत नगराई अनुपस्थित रहने तथा तोकिएको पोसाक नलगाई कार्यालयमा उपस्थित हुने दुई सय बढी कर्मचारी रहेका छन् ।

कामचोरदेखि अनुशासन उल्लंघन गर्ने ती सबै कर्मचारीलाई आवश्यक कारबाही गर्न सम्वन्धित मन्त्रालयलाई लेखी पठाइने तयारी गरिएको केन्द्रका सहायक प्रवक्ता डालनाथ अर्यालले जानकारी दिए ।

सहायक प्रवक्ता अर्यालका अनुसार निर्धारित समयमा अनुपस्थित हुने र अनुशासन उल्लंघन गर्नेलाई ‘निजामती सेवा ऐन,२०४९’ को दफा ५५ (क) अनुसार कारबाहीका लागि सिफारिस गरिनेछ । छड्केमा पर्ने कर्मचारीहरूमाथि आवश्यक विभागीय कारबाही हुनेछ ।

सहायक प्रवक्ता अर्यालले पटक–पटक नियम उल्लंघन गर्ने कर्मचारीहरूको सरुवा बढुवा तथा वृत्ति विकासमा समेत असर पर्ने बताए ।

यद्यपि, सतर्कता केन्द्रले कारबाहीको सिफारिस गरे पनि सम्बन्धित मन्त्रालयले भने कर्मचारीलाई कारबाही नगरी सतर्कता केन्द्रको पत्रलाई त्यसै थन्काइदिने गरेका छन् । जसका कारण कर्मचारीमा दण्डहीनता बढ्दै गइरहेको केन्द्रका अधिकारीको अनुभव छ ।

 
 
  
 

You may also like