नेकपाका दर्जन नेता चीनतिर

by समतल अनलाइन

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दर्जन नेता चीनतिर लागेका छन्। नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीच कार्यकर्ता तहमा अध्ययन भ्रमण वृद्धि गर्ने समझदारी भएलगत्तै नेताहरु चीन गएका हुन्।

नेकपाका स्थायी समिति सदस्य बेदुराम भुसाल, देवेन्द्र पौडेल र कार्यालय सचिव ईश्वरी रिजाल सोमबार चीनको गोन्जाओ पुगेका छन्। चीनको परराष्ट्र मन्त्रालयको आयोजनामा सात देशका नेताहरु सम्मिलित बैठकमा भाग लिन उनीहरु गोन्जाओ पुगेका हुन्। त्यसैगरी सुरेश आलेमगरको नेतृत्वमा अर्को टोली चीनको स्वशासित क्षेत्र तिब्बत गएको छ। सो टोली पनि सोमबार नै त्यसतर्फ लागेको हो।

यस्तै ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र उनकी पत्नी सुजिता शाक्य पनि चीनको छेन्दुतर्फ गएका छन्। पोखरेल बिआरआईसम्बन्धी कार्यक्रममा भाग लिन गएका हुन्। उनीसँग स्वकीय सचिव, प्रदेश योजना आयोगका सदस्य र अर्का एकजना पनि गएका छन्।

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल पनि कात्तिक १ गतेदेखि आयोजना हुने एक कार्यक्रममा भाग लिन चीन जाँदैछन्। उनीसँग खेलाडी र सेनाका अधिकारीसहित ६० जनाको टोली सहभागी हुने बताइएको छ।

उनी अन्तर्राष्ट्रिय मिलिटरी स्पोर्टस काउन्सिलले कात्तिक १ देखि १० सम्म चीनको उहान प्रान्तमा सञ्चालन गर्ने सातौं अन्तर्राष्ट्रिय विश्व मिलिटरी गेम्स–२०१९ को उद्घाटन समारोहमा सहभागी हुँदैछन्। उनले बेइजिङमा हुन लागेको सुरक्षासम्बन्धी ‘नवौं सिङ साङ फोरम’ मा पनि भाग लिनेछन्।

नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीच सहयोग आदानप्रदान समझदारीपत्रमा हस्ताक्षर भएपछि नेताहरु चीन भ्रमणमा गएका हुन्। नेकपाका विदेश विभाग प्रमुख माधवकुमार नेपाल र चिनिया कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सङ ताओले सो समझदारीपत्रमा हस्ताक्षर गरेका थिए।

समझदारीमा दुई पार्टीबीचको राजनीतिक तथा आर्थिक मोडलको आदानप्रदानका लागि उच्चस्तरीय भ्रमण गर्ने विषय उल्लेख छ। राजधानीमा असोज पहिलो साता भएको विचार गोष्ठीमा यस्तो समझदारी बनेको हो। नागरिक दैनिकले खबर छापेकाे छ ।

 
 
  
 

You may also like