नेपालको वैदेशिक व्यापार : चार महिनामा साढे ६ खर्बको आयात, ८८ अर्बको निर्यात

by समतल अनलाइन

काठमाडौं । गत आर्थिक वर्षको तुलनामा नेपालको बाह्य निर्यात शत प्रतिशतले वृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालू आवको पहिलो चार महिनाको तथ्यांकअनुसार गत वर्षको ४ महिनामा ४० अर्ब २० करोडको निर्यात गरेकोमा यो वर्ष सोही अवधिमा ८२ अर्ब १२ करोडको निर्यात भएको हो ।

त्यस्तै आयात ६१ प्रतिशतले बढेको छ। चालू आवको कात्तिकसम्म ६ खर्ब ५० अर्ब आयात भएको छ भने गत वर्षको यही अवधिमा ४ खर्ब २ अर्ब रुपैयाँको आयात भएको विभागले उल्लेख गरेको छ ।

४ महिनामा वैदेशिक व्यापार ७ खर्ब ३२ अर्ब रुपैयाँ रहेको छ । वैदेशिक व्यापार साढे ६५ प्रतिशतले बढेको हो । जसमा नेपालको व्यापार घाटा ५ खर्ब ६८ अर्ब रुपैयाँ रहेको छ । निर्यात वृद्धि हुनुमा पाम र सोया निर्यात भएको छ । ४ महिनामा तेलजन्य पदार्थ मात्रै ४७ अर्ब ४६ करोड रुपैयाँको निर्यात भएको छ ।

त्यस्तै आयातमा ४४ अर्ब ५९ करोडको सवारी साधन, इलेक्ट्रिक मेसिनरी ४६ अर्ब, घरमा प्रयोग हुने मेसिनरी सामग्री ४८ अर्ब ९७ करोड, आइरन र स्टिल ५५ अर्ब ६२ करोड, ८८ अर्ब २४ करोडको पेट्रोलियम पदार्थ आयात भएको छ ।

भारतसँग मात्र ३ खर्ब १९ अर्बको घाटा

तथ्यांक अनुसार नेपालको वैदेशिक व्यापार भारतसँग बढी निर्भर छ । नेपालमा सबैभन्दा धेरै वस्तु आयात भारतबाटै हुन्छ र निर्यात पनि भारतमै बढी हुन्छ । नेपालले भारतबाट चार महिनामा ३ खर्ब ८५ अर्ब ९५ करोडको वस्तु आयात गरेको छ भने नेपालबाट ६६ अर्ब ९४ करोड रुपैयाँको निर्यात भएको छ । यस अनुसार चार महिनाको अवधिमा भारतसँगको व्यापार घाटामात्र ३ खर्ब १९ अर्ब रुपैयाँको छ ।

चीनबाट भने नेपालले ९४ अर्ब ३० करोड रुपैयाँको वस्तु आयात गरेको छ भने ३१ करोड रुपैयाँको वस्तु निर्यात गरेको छ । अमेरिकाबाट ९ अर्ब ९१ करोड रुपैयाँको वस्तु आयात गरेकामा ६ अर्ब १० करोड रुपैयाँको वस्तु निर्यात गरेको छ । चार महिनाको अवधिमा नेपालको वैदेशिक व्यापार १३८ भन्दा बढी मुलुकसँग भएको छ ।

 
 
  
 

You may also like