रुपन्देही कांग्रेसको मत गणनास्थलमा झडप, उम्मेद्वारसहित पाँच जना घाइते

by समतल अनलाइन

रुपन्देही। नेपाली कांग्रेसको अधिवेशन अन्तर्गत रुपन्देही क्षेत्र नम्बर ३ (क) मा मतगणना क्रममा विवाद हुँदा झडप भएको छ । सिद्धार्थनगर नगरपालिका भैरहवामा मतगणना भइरहेका बेला केही युवाले आक्रमण गर्दा एक उम्मेदवारसहित पाँच जना घाइते भएका छन् ।

प्रदेश सभा ३ (क) को मतगणना भैरहेको अवस्थामा भैरहवामा राति दुई बजे मुख छोपेर आएका केही युवाहरूले आक्रमण गर्दा शैलेश पन्त घाइते भएका हुन् । उनको नाकको हड्डी फ्याक्चर भएको जनाइएको छ । उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको कांग्रेस नेता मातृका यादवले जानकारी दिए ।

मत गणनामा पौडेल पक्षबाट प्यानल नै बनाएर प्रदेश सभा क्षेत्रीय सभापतिमा उम्मेदवारी दिएका पुरनप्रसाद श्रेष्ठको टिमले अग्रता लिँदै गरेको अवस्थामा देउवा पक्षका कार्यकर्ताले जेनेरेटर बन्द गराएर पाँच जनामाथि हातपात र कुटपिट गरेको यादवले आरोप लगाए ।

घाइते पन्त मंसिर ६ गते हुन गइरहेको प्रतिनिधि सभा क्षेत्रीय सचिव पदका उम्मेद्वार हुन् । आक्रमण भएपछि मतगणना स्थगित भएको छ । मत गणनामा हार्ने निश्चित भएपछि तरुण दल रुपन्देहीका अध्यक्ष सोमबहादुर गुरुङको नेतृत्वमा आक्रमण भएको सभापतिका उम्मेद्वार पुरनप्रसाद श्रेष्ठले आरोप लगाएका छन् ।

 
 
  
 

You may also like