सुर्खेत र सल्यानमा बस पल्टिँदा दुईको मृत्यु, ४० बढी घाइते

by समतल अनलाइन

सुर्खेत । सुर्खेत र सल्यानमा शनिबार साँझ बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ४० बढी घाइते भएका छन् ।

दैलेखको बेस्तडाबाट सुर्खेत जाँदै गरेको कर्णाली प्रदेश ००१ ख ०१६६ नम्बरको बस सुर्खेतको लादे ओरालोमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा २० जनाभन्दा धेरै यात्रु घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

दुर्घटनामा दैलेखको नारायण नगरपालिका–११ का युवा सुशील राउत र भगवती गाउँपालिका–१ की ३४ वर्षीया शान्ता थापा आचार्यको मृत्यु भएको हो । मृतक शान्ता दुर्घटनामा परेको बसका चालककी श्रीमती हुन् । बस दुर्घटनापछि चालक फरार छन् । उक्त बस गाडी साहुले चलाएका प्रहरीले जनाएको छ ।

घाइतेलाई उपचारका लागि सुर्खेत पठाइएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ । त्यसैगरी सल्यानको छत्रेस्वरी नगरपालिकामा ना ४ ख ७१८९ नम्बरको मिनी बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् ।

शारदा नगरपालिका–१ श्रीनगरबाट छत्रेस्वरी गाउँपालिकाको लैसे जाँदै गरेको बस छत्रेस्वरी गाउँपालिका ३ नारेमा शनिबार साँझ दुर्घटनामा परेको हो । अप्ठ्यारो बाटोमा सहचालकले चलाउँदा बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

घाइते सबैको कर्णाली अस्पताल श्रीनगर सल्यानमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक अर्जुन पौडेलले जानकारी दिए । दुर्घटनामा घाइते हुनेमा आठ जना बालबालिका पनि छन् । दुर्घटनापछि बसका चालक र सहचालक फरार भएका प्रहरीले जनाएको छ ।

 
 
  
 

You may also like