सिरहा। मानव बेचविखनमा संलग्न भएको आरोपमा प्रहरीले सिरहाबाट दुई महिलालाई पक्राउ गरेको छ । दुई किशोरीलाई भारतमा बेच्न लैजाँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सप्तरीको कञ्चनरुप नगरपालिका–११ की २८ वर्षीया ललिता चौधरी र सिरहाको धनगढीमाई नगरपालिका–१ की ३५ वर्षीया उषादेवी मलाह पक्राउ परेका हुन् । उनीहरुले १६ र १९ वर्षीया दुई किशोरीलाई बेच्ने उद्देश्यले सिरहाको माडर हुँदै भारत लैजाँदै गरेको अवस्थामा चोहर्वाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
प्रहरीका अनुसार सप्तरीका ती किशोरीलाई लहानमा मासिक ५० हजारको जागिर लगाई दिने प्रलोभन दिएर उनीहरुले घरबाट ल्याएका थिए । लहान आइसकेपछि जनकपुरमा अझ धेरै कमाइ हुने भन्दै झुक्याएर भारततर्फ लैजाँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी राजेन्द्र श्रेष्ठले जानकारी दिए ।
सिरहा जिल्ला अदालतबाट म्याद थप गरी दुबै महिलामाथि आवश्यक अनुसन्धान अगाडी बढाइने उनले बताए । उद्धार गरिएकी किशोरीलाई अभिभावकको जिम्मा लगाउने तयारी प्रहरीले गरेको छ ।