काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना नागरिक तुइनबाट खसालिँदा पनि सरकार चुइक्क बोल्न नसकेको आरोप लगाएका छन् ।
युवा संघले आज (सोमबार) राजधानीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले तुइनबाट खसालेको भनेर प्रतिवेदन आउँदा पनि सरकारले केही बोल्न नसकेको बताए । भारतले यसबारे थाहा छैन भनेको भन्दै उनले अघि भने, ‘यो सरकारले थाहा दिन सक्दैन ।’ सडकमा आएका युवाहरुलाई लाठी बर्साउने सरकारले भारतसँग चुइक्क नबोलेको भन्दै उनले भने, ‘यसलाई भन्छ, घरको बाघ, वनको स्याल ।’
‘भुलचुकले कपाल फुल्यो, म आफूलाई युवा नै ठान्छु’
अध्यक्ष ओलीले आफूले आफूलाई युवा नै ठान्ने गरेको बताएका छन् । कार्यक्रममा उनले आफ्नो भुलचुकले कपाल फुलेको बताए । ‘युवा संघको पनि म अध्यक्ष नै हो । म अहिलेसम्म भुलचुकले कपाल फुल्यो बेग्लै कुरा हो । तर, म आफूलाई युवा–युवा ठान्छु ।’
कार्यक्रममा ओलीले एमाले सरकारबाट हटे पनि जनता आफ्नै पार्टीमा आइरहेको दाबी गरे । ‘नेकपा एमालेलाई स–साना झुण्ड मिलेर । जालझेल गरेर खेद्न खोज्छन् । एमाले सरकारबाट हटेको छ । जनता एमालेमा प्रवेश गरेको छ’, उनले भने । एमाले सरकारमा भए नभएमा फरक नपर्ने उनले बताए ।