देउवालाई शेखरको सुझाव : पार्टी वैठक सानेपामा राख्नुस्, सरकारलाई पूरा समय दिनुस्

by समतल अनलाइन

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले क्रियाशील सदस्यता विवाद भएका स्थानमा १३ औं महाधिवेशनका सदस्यलाई मान्यता दिएर महाधिवेशनमा जानु पर्ने बताएका छन् ।

प्रधानमन्त्री देउवाको निजी निवास बुढानिलकण्ठमा जारी केन्द्रीय कमिटी बैठकमा डा. कोइरालाले समस्या भएका स्थानमा १३ औं महाधिवेशनका क्रियाशील सदस्यलाई नै आधार मानेर महाधिवेशनमा जान सुझाव दिए । पार्टीको वैधानिकता र संविधान एवं ऐनको मानेर जाने अवस्थामा यहि मात्र उत्तम विकल्प हुने उनको भनाइ थियो ।

प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले शतप्रतिशत समय सरकार सञ्चालनमा दिनुपर्नेमा ७५ प्रतिशत समय पार्टीको काममा खर्च भएको बताएका छन् । प्रधानमन्त्रीको ध्यान सरकार सञ्चालनमा नहुँदा सरकारले प्रभावकारी काम गर्न नसक्ने बताए । उनले भने, ‘प्रधानमन्त्रीजीले शतप्रतिशत समय सरकार सञ्चालनमा ध्यान दिनुपर्नेमा ७५ प्रतिशत समय पार्टीको काममा खर्च भएको छ । यसरी सरकार सञ्चालन कसरी प्रभावकारी हुन सक्छ ?’

यस्तै उनले दुई महिनादेखि १५ मन्त्रालय नेतृत्वविहीन भएको स्मरण गराउँदै यसले कसरी जनहितमा काम गर्न सक्छ भन्दै सभापति एवं प्रधानमन्त्री देउवासमक्ष प्रश्न गरेका छन् । उनले जनहित र सुशासन दिनका लागि पहिला मन्त्रिपरिषद्ले पूर्णता पाउनुपर्नेमा जोड दिए । संख्याका हिसाबले कम भए पनि सरकारले नेतृत्व गरिरहेका नेपाली कांग्रेसमक्ष ठूला चुनौती बताए ।

पार्टी कार्यालयमा धर्ना भएका कारण आफूहरुले बुढानिलकण्ठमा बैठक बस्नुपरेको दुःख व्यक्त गर्दै कोइरालाले पार्टी कार्यालयमा धर्ना बसेका साथीहरुको पीडा पनि पार्टीले सुन्नुपर्नेमा जोड दिए । साथै उनले माग सम्बोधन गर्दै पार्टीको केन्द्रीय कार्यकारिणी बैठक केन्द्रीय कार्यालय सानेपामै राख्न अनुरोध गरे ।

संविधान र कानुन आफूहरुले नै बनाएको स्मरण गराउँदै उनले त्यसमा उल्लेख भएका र लेखिएका कुराहरूलाई कांग्रेसले बिर्सन नमिल्ने जिकिर गरे । पदाधिकारी र पुर्व पदाधिकारीले महाधिवेशनको टुङ्गो लगाउने आशामा भए पनि नेताहरुमा इच्छाशक्ति नभएको उनको आरोप थियो ।

‘पार्टीको विधान र संविधानले दिएको समय गुज्रिसकेकाले नियमित अधिवेशनमा जानुको विकल्प छैन,’ उनले भने, ‘विशेष महाधिवेशन र म्याद थप्ने कुरा कदापी मान्य हुँदैन, क्रियाशील सदस्यताको समस्या समाधान नभई महाधिवेशन हुनै सक्दैन ।’ छिटोभन्दा छिटो क्रियाशील सदस्यताको समस्या टुङ्याएर दुई महिनाभित्र महाधिवेशन सम्पन्न गनुपर्नेमा उनको जोड छ ।

 
 
  
 

You may also like