पत्रकार महासंघद्वारा पत्रकारिताबारे छलफल

by समतल अनलाइन

बुटवल।नेपाल पत्रकार महासंघ रुपन्देहीले पत्रकारको सुरक्षा र समाचारका विषयमा छलफल गर्ने गरी फ्रि मिडिया नेटवर्कलाई पुन सक्रिय बनाएको छ । इन्टरनेशनल अलर्टसंगको सहकार्यमा महासंघले पत्रकारहरुको भौतिक सुरक्षा तथा मिडियामा आएका समाचारहरुका विषयमा छलफल गर्ने गरी नेटवर्कलाई सक्रिय बनाएको हो । महासंघ हलमा सोमबार भएको छलफलमा पत्रकारिता पेशा समाजको मार्गदर्शन गर्ने पेशा भएकाले जिम्मेवार हुनुपर्नेमा जोड दिइएको छ । छलफलमा जिल्ला समन्वय समिति रुपन्देहीका सदस्य खेम लुइँटेलले सुचनाको पुष्टि गरेर मात्रै समाचार सम्प्रेषण गर्दा त्यो विश्वसनीय हुने बताए । उनले हरेक क्षेत्रमा शुद्धीकरणको आवश्यकता रहेको बताए ।

त्यसै गरी छलफलमा राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेशका उपसचिव सन्तोष भट्टराईले राजनीति भन्दा माथि उठेर नागरिकका सवाल ल्याउन पत्रकारहरुलाई सुझाव दिए । इलाका प्रशासन कार्यालय बुटवलका शाखा प्रमुख राजकुमारी गौतमले पत्रकारिताका सवालमा छलफल हुने कुरा सकरात्मक भएको भन्दै पत्रकार सुरक्षामा प्रशासन संवेदनशिल भएको बताइन ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक मदन कुँवरले समाचार लेखेकै कारण पत्रकार असुरक्षित हुने अवस्था आउन नदिने बताए । बुटवल उपमहानगर वडा नम्बर ४ का वडाअध्यक्ष टंक पराजुलीले पत्रकारिताले समाजलाई नै डोर्याउने भएकाले जिम्मेवार हुनुपर्ने बताए । उक्त छलफलमा नेपाल पत्रकार महासंघ रुपन्देहीका निर्वतमान अध्यक्ष तथा सल्लाहकार यानेन्द्र जिसिले विगतदेखि नै फ्रि मिडिया नेटवर्क मार्फत छलफल हुने गरेको बताउँदै यूटुबर सामाजिक सञ्जाललाई हेरेर पत्रकारिताका बारेमा आलोचना नगर्न आग्रह गरे ।

नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष तथा नेटवर्कका संयोजक रामराज पोख्रेलले पत्रकारको सुरक्षा, समाचारका बिषयमा सरोकारवालाहरुसंग छलफल गरेर पत्रकारितालाई समेत सुधार गर्ने उदेश्यले नेटवर्कको गठन गरिएको बताए ।

उक्त अवसरमा उच्च अदालत तुल्सीपुर बुटवल बार एसोसिएशनका सचिव गोविन्द प्रसाद मरासीनी, रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहनी, बुटवल उद्योग वाणिज्य संघका महासचिव विमलराज भट्टराई, रुपन्देही उद्योग संघका वरिष्ठ उपाध्यक्ष माधव पौडेल, नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष अमृता अनमोल, गैरसरकारी संस्था महासंघ रुपन्देहीका अध्यक्ष रीमा बिसिले बोल्दै कोरोना महामारीले पत्रकारिता पेशामा नयाँ चुनौती देखा परेको बताए । पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष पोख्रेलको अध्यक्षता, उपाध्यक्ष विश्वास ढकालको स्वागत तथा सचिव विनोद परियारको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

 
 
  
 

You may also like