एमसीसी संशोधनसहित पारित हुनुपर्नेमा ओलीको जोड

by समतल अनलाइन

काठमाडौ । एमाले अध्यक्ष ओलीले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संशोधनसहित पास हुनुपर्ने बताएका छन् । यसअघि आफू सरकारमा हुँदा एमसीसी पास हुनुपर्ने बताउँदै आएका ओलीले केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै एमसीसी संशोधन गरेर पास गर्नुपर्ने बताएका छन् ।

‘हामी त स्पष्ट छौं । हाम्रो पार्टीले बनाएको कार्यदलले दिएको सुझाव, बुद्धिजीवी र विज्ञहरूले दिएको सुझावका आधारमा जनताको भावनाअनुसार संशोधनसहित पास हुनुपर्छ,’ ओलीले भने, ‘१६५ ले भोट हालेर बनेको सरकारले संसद्मा एमसीसी पेस भएको थाहा पाएको छैन कि क्या हो ? पास गर्ने कि फेल गर्ने भन्ने त त्यहीं टेबुल गरे भयो त ।’

ओलीले शेरबहादुर देउवा नेतृत्वकै सरकारको पालामा एमसीसी सम्झौता भएको भए पनि अहिले एमालेलाई दोष दिएको भन्दै आपत्ति जनाए । ‘एमसीसीबारे सत्तारूढ दल किन बोल्न नसकेको ? तपाईंहरूकै पालामा सम्झौता गरेको होइन ? १६५ को मतले विश्वासको मत लिएकै छ त पास गर्दा भइहाल्यो किन हामीलाई दोष ?,’ ओलीले भने ।

पार्टी विवादबारे ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग मिलेर पार्टी ध्वस्त बनाएको आरोप लगाएका छन् । कांग्रेस सभापति देउवासँग मिलेर पार्टी नेतृत्वकै सरकार ढालेको आरोप उनले लगाए । अहिलेको सत्तारूढको गठबन्धन अपवित्र गठबन्धन भएको टिप्पणी ओलीले गरेका छन् ।

‘माधव नेपालबारे केही भन्नु छैन । पुष्पकमल दाहालसँग मिलेर यो पार्टी ध्वस्त पार्न लाग्नुभयो, देउवासँग मिलेर आफ्नो सरकार ढालेर दक्षिणपन्थी गठबन्धन बनाउन लागे,’ उनले भने । राजधानी दैनिकबाट

 
 
  
 

You may also like