खोप केन्द्रहरुमा भइरहेको भिड कम गर्न मन्त्रालयको निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप केन्द्रहरुमा हुने गरेको भिड व्यवस्थापन गर्न निर्देशन दिएको छ । खोप केन्द्रमा भइरहेको भिडले कोरोना संक्रमणको जोखिम थप बढाएको भन्दै आवश्यक व्यवस्थापन गर्न निर्देशन दिएको हो ।

‘खोप केन्द्रहरुमा भइरहेका भिडभाडप्रति यस मन्त्रालयको गम्भिर ध्यानाकर्षण भएको छ । खोप केन्द्रहरुमा थप स्वास्थ्यकर्मी र आवश्यकता अनुसार स्थानीय रुपमा थप स्वयंसेवकहरु परिचालन गरेर भए पनि खोपको प्राथमिकता र पालोमा परेका सर्वसाधारणहरुलाई सहज हुने व्यवस्था गर्नु हुन अनुरोध गर्दछौं’, मन्त्रालयले एक अपिल जारी गर्दै भनेको छ, ‘हाल चलिरहेका र सुरु हुने अभियानहरुमा ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्तिहरुलाई सहज हुन गरी व्यवस्थापन गर्नुहुन सम्पूर्ण जिल्ला खोप समन्वय समितिहरु, जिल्ला स्वास्थ्य कार्यालयहरु, स्थानिय निकायहरु र सबै सरोकारवालाहरुलाई अनुरोध छ ।’

कोभिड १९ संक्रमणको उच्च जोखिमबाट जोगाउन सञ्चालन भइरहेको खोप अभियान सफल बनाउन सबैले जनस्वास्थ्यका मापदण्डहरुको पूर्ण पालना गर्न र गराउन पनि मन्त्रालयले अपिल गरेको छ ।

कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि कोभिड १९ विरुद्धको खोप अभियान तीव्रगतिमा सञ्चालन गरिरहेको जनाएको मन्त्रालयले खोप अभियानलाई द्रुत गतिमा लैजाने गरी खोप आपूर्ति बढाउँदै, केन्द्रहरु विस्तार गर्दै, अनलाइन प्रविधिको समेत प्रयोग गर्दै व्यवस्थित गरिँदै लगिएको स्पष्ट पारेको छ ।

हाल देशभर लक्षित समूहलाई कोभिड–१९ विरुद्धको भेरोसेलको दोस्रो डोज खोप लगाउने काम भइरहेको छ । पहिलो डोज खोप लगाएको २१ दिन पुगेका सबै व्यक्तिलाई दोस्रो डोज खोप दिइएको हो ।

स्वास्थ्य सेवा विभागले सातवटै प्रदेश स्वास्थ्य निर्देशनालय र ७७ वटै जिल्ला स्वास्थ्य कार्यालयलाई खोप अभियान सञ्चालन गर्न निर्देशन दिएको छ । ५५ वर्षमाथिका उमेर समूह, अत्यावश्यक सेवामा कार्यरत व्यक्तिहरु, विदेश जाने नागरिकका लागि छुट्टाछुट्टै केन्द्रको व्यवस्था गरिएको छ । तर, खोप केन्द्रमा अनियन्त्रित भिडभए पछि मन्त्रालयले व्यवस्थित गर्न भनेको हो ।

यसैबीच, कोभिड खोपको दोस्रो डोज खोप लगाउन बाँकी रहेका ज्येष्ठ नागरिकलाई भोलि (सोमबार) २५ गतेदेखि खोप दिइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार सचिवस्तरीय निर्णय गर्दै कोभिसिल्ड लगाएकाहरूलाई दोस्रो मात्रा एस्ट्राजेनेका खोप दिने निर्णय गरेको हो ।

भुटान र जापानबाट आएको अस्ट्राजेनेका खोप ६५ वर्ष माथिका ज्येष्ठ नागरिकसहित १३ लाख ६८ हजार नागरिकलाई दिइने भएको हो । जापानबाट ३ दिनभित्र ८ लाख डोज खोप आउन लागेको र २५ गतेदेखि प्रदेश १ र २ बाहेक अन्य प्रदेशमा २५ गतेबाट दोस्रो डोज अस्ट्राजेनेका खोप दिइने स्वास्थ्य सेवा विभाग अन्तर्गत खोप शाखाले जनाएको छ ।

 

 
 
  
 

You may also like