जापानले दिएको एस्ट्राजेनेका खोपको पहिलो खेप आइपुग्यो काठमाडौं

काठमाडौं । जापान सरकारले कोभ्याक्स परियोजनामार्फत नेपाललाई उपलब्ध गराएको एस्ट्राजेनेका खोपको पहिलो खेप काठमाडौं आइपुगेको छ ।

एस्ट्राजेनेकाको खोप लिएर आएको कतार एयरवेजको विमान शनिबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । आज ३ लाखभन्दा बढी डोज खोप आएको छ । बाँकी करिब ५ लाख डोज भोलि आइपुग्ने जनाइएको छ । जापान सरकारले सहयोगको लागि प्रतिबद्धता गरेको १६ लाख डोज एस्ट्राजेनेका खोपमध्ये करिब आधा ९८ लाख डोज० शनिबार र आइतबार आइपुग्ने भएको हो । बाँकी ८ लाख खोप भने कहिले आउँछ भन्ने विषयमा खुलाइएको छैन ।

सरकारले कोरोनाविरुद्धको कोभिसिल्ड खोप लगाएकालाई दोस्रो मात्रा एस्ट्राजेनेकाकै खोप दिने निर्णय गरिसकेको छ । फागुन २३ देखि चैत्र १० गतेसम्म कोभिसिल्डको पहिलो मात्रा लगाएकालाई जापानले उपलब्ध गराएको खोप दिन लागिएको हो ।

भुटानबाट पनि शुक्रबार २ लाख ३० हजार डोज एस्ट्राजेनेकाको खोप नेपाल आइपुगेको छ । यो खोप कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका साढे १३ लाख ज्येष्ठ नागरिकलाई लगाइने जनाइएको छ ।

सरकारले अक्सफोर्ड एस्ट्राजेनेकाले विकास गरेको र भारतको सेरम इन्स्च्यिूटले उत्पादन गरेको कोभिडसिल्ड खोप साढे १३ लाख ज्येष्ठ नागरिकलाई गत चैतमा नै लगाइसकेको छ । दोस्रो मात्रा १२ सातामा लगाउनुपर्ने भए पनि भारत खरिदको खोप उपलब्ध नगराउँदा उनीहरुलाई एस्ट्राजेनेका खोप लगाउने निर्णय यस अघि नै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरिसकेको छ ।

सरकारले साउन २५ गतेदेखि कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका साढे १३ लाख ज्येष्ठ नागरिकलाई जापान र भुटानले उपलब्ध गराएको खोप एस्ट्राजेनका लगाउने तयारी गरेको हो । परिवार कल्याण महाशाखा, बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा। झलक शर्मा गौतमले साउन २५ गतेदेखि कोभिसिल्डको पहिलो डोज लगाएकालाई एस्ट्राजेनेकाको दोस्रो मात्रा खोप लगाउने तयारी भइरहेको जानकारी दिए ।

 

 
 
  
 

You may also like