लुम्बिनी प्रदेशकी सांसद बिमला वली सम्पर्क बिहिन

बुतवल। लुम्बिनी प्रदेशकी सांसद बिमला कुमारी खत्री (वली) पार्टीको सम्पर्क बाहिर रहेको माओवादी केन्द्रले दाबी गरेको छ । वली बिहीबार साँझदेखि सम्पर्कमा नरहेको रहेको माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीमगरले जानकारी दिए । ‘हामीले निरन्तर फोन गरेका छौं । उहाँले चलाउने एउटा मोबाइल अफ छ । एउटामा घण्टी जान्छ तर उठ्दैन’, घर्तीमगरले भने ।

परिवारले उनी तुलसीपुरबाट आफन्तकहाँ नेपालगञ्ज गएको बताएको छ । तर, उनको मोबाइलको लोकेसन भने रुपन्देहीको बुटवलस्थित नयागाउँ आसपासमा देखिएको सचेतक घर्तीले बताए ।

उनी दाङ ३ (ख) की सांसद हुन् । एमालेबाट निर्वाचित पति उत्तरकुमार वलीको मृत्यु भएपछि उनी उपनिर्वाचनमार्फत चुनिएकी हुन् । तत्कालीन नेकपाबाट जितेकी उनले पार्टी विभाजनपछि भने माओवादी केन्द्र रोजेकी थिइन् । यद्यपि एमालेले सूर्य चिन्हबाट लडेको सांसद भन्दै उनलाई सत्ता पक्षमा कुर्सी राख्न प्रदेश सभालाई पत्राचार गरेको थियो ।

माओवादी केन्द्रले एमालेले उनलाई आफ्नो कब्जामा लिएको आरोप लगाएको छ । माओवादी केन्द्रले शनिबार बिहान ११ बजे संसदीय दलको बैठक बोलाएको छ । वली उक्त बैठकमा नआए खोजबिनका लागि प्रहरीमा उजुरी गर्ने सचेतक घर्तीमगरले बताए ।

सरकारका प्रवक्ता बैजनाथ चौधरीले भने वलीका बारेमा कुनै जानकारी नभएको बताए । लुम्बिनीमा सत्तापक्ष सरकार जोगाउन र विपक्ष सत्ता गिराउन लागिरहँदा सांसद खरिद बिक्री, राजीनामा र ‘सम्पर्कविहीन’ हुनेक्रम बढेको छ । यसअघि जसपा सांसद पुर्मती ढेंगा मगर सम्पर्कविहीन भएकी थिइन् । पाटीमा उपेन्द्र यादवले आधिकारिकता पाएपछि भने उनी सम्पर्कमा आएकी छन् ।

एमालेले भने विमला पार्टीको संसदीय दलको बैठक र जिल्ला कमिटीको बैठकमा सहभागी भएको भन्दै विमलाले माओवादी केन्द्र रोज्न नपाउने जिकिर गर्दै आएको छ । गत बैशाख १९ गते उनले पत्रकार सम्मेलन गरेर आफूले स्वेच्छाले माओवादी रोजेको घोषणा गरेकी थिइन् । प्रदेश सभा बैठकमा पनि उनी माओवादी केन्द्रकै लहरमा बस्दै आएकी थिइन् । नेकपा खारेजपछि प्रदेश सभा सचिवालयले आफ्ना सांसदहरुको नामावली माग गर्दा एमाले संसदीय दलले विमलाको नाम पठाएको थिएन ।

इलाका प्रहरी कार्यालय तुल्सीपुरका डीएसपी श्यामु अर्यालले सांसद खत्री दाङको सदरमुकाम घोराहीमा रहेको बताए । सांसद वलीसँग सम्पर्क गर्न पटक–पटक प्रयास गरे पनि उनले फोन रिसिभ गरेकी छैनन् ।

८३ सदस्यीय लुम्बिनी प्रदेशसभामा जसपाबाट मन्त्री बनेका तीन जना सांसद शुक्रबार पदमुक्त भएपछि मुख्यमन्त्री शंकर पोखरेल पुनः अल्पमतमा परेका छन् । मुख्यमन्त्रीको पक्षमा एमालेका ३८ सांसद मात्र छन् भने विपक्षी गठबन्धनमा ४१ मत छ । विमला एमालेमा फर्केपनि सरकारलाई बहुमत पुग्ने अवस्था छैन ।

प्रदेशमा नयाँ प्रदेश प्रमुख आएसँगै विपक्षी गठबन्धन विशेष अधिवेशनको समावेदन गरी मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने तयारीमा छ । एमाले संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले सांसद वली आफ्नै पार्टीको भएकाले आफूहरुसँगै रहेको र कतै नगएको दावी गरे । केही दिनअघि जनता समाजवादी पार्टीकी सांसद पुरमति ढेंगालाई पनि सत्ता पक्षले आफूतिर तान्ने प्रयास गरे पनि सफल हुन सकेको थिएन ।

तत्कालीन नेकपा विभाजन भएपछि बहुमत गुमाएका मुख्यमन्त्री पोखरेलले जसपाका चार जनालाई सरकारमा सहभागी गराएर बहुमत पु¥याएका थिए । तर असार १८ गते भौतिक पूर्वाधार विकास राज्यमन्त्री सुमन शर्मा रायमाझीले राजीनामा दिएपछि सरकार अल्पमतमा परेको थियो ।

 
 
  
 

You may also like