अर्थमन्त्री शर्माको स्पष्टीकरण : मौद्रिक नीति रोक्नु भनेको छैन

‘मसँग काम गर्ने धेरै समय छैन, धेरै गर्न सकिने अवस्था पनि छैन’
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले मन्त्रालयबाट मौद्रिक नीति ल्याउन रोकिएको भन्ने समाचारमा कुनै सत्यता नरहेको स्पष्ट पारेका छन् ।

आर्थिक पत्रकार संघ नेपाल (नाफिज) का पदाधिकारी तथा कार्यसमिति सदस्यहरुसँगको भेटघाटको क्रममा मन्त्री शर्माले राष्ट्र बैंक स्वायत्त संस्था भएकोले त्यस्तो निर्देशन जारी नगरिएको जानकारी दिए । राष्ट्र बैंकका गभर्नरलाई देशको आर्थिक क्रियाकलाप, जनताको अपेक्षा र लाभग्राहीहरुको पूर्व निर्धारित कार्यक्रममा कुनै किसिमको नकारात्मक असर नपर्ने गरी मौद्रिक नीति ल्याउन मात्र भनेको उनले जानकारी दिए ।

श्वेतपत्रको सम्बन्धमा राखिएको ज्ञिजासामा मन्त्री शर्माले कसैलाई गल्ती देखाउन नभई आफूले जिम्मेवारी लिँदा अर्थतन्त्रको वास्तविक चित्र कस्तो थियो भनेर जनतालाई जानकारी दिन मात्र खोजिएको स्पष्ट गरे । ‘यो कुनै फिल्म खेल्ने कुरा होइन, भिलेनलाई पछारेर हिरोले जितेको देखाउनलाई, म त्यस्तो अभियानमा छैन’, उनले भने, ‘आफूले देखेको कुरा भन्ने हो । जे छ त्यही प्रष्ट राख्ने हो ।’

मन्त्री शर्माले उपभोक्तावादी अर्थतन्त्रलाई उत्पादनमुखी अर्थतन्त्रमा बदल्ने हिसाबले काम थाल्ने सोंच रहेको पनि बताएका छन् । आफूलाई अहिले जनताका अपेक्षाहरुको भारीले त्रसित बनाएको भन्दै मन्त्री शर्माले थपे, ‘मसँग काम गर्ने धेरै समय छैन । धेरै गर्न सकिने अवस्था पनि छैन । तर विषय विज्ञ एवं तपाइहरु सबैको सुझाव र जनताको आवाज दुवै कुरा मिसाएर अर्थतन्त्रलाई केही न केही मात्रामा फरक दिशा दिने सोचेको छु, त्यो म गर्छु ।’ मन्त्री शर्माले उपभोक्तावादी अर्थतन्त्रलाई उत्पादनमुखी अर्थतन्त्रका बदल्ने हिसावले पहलकदमी अघि बढाइने सोंच रहेको बताएका छन् ।

कार्यक्रममा अर्थसचिव शिशिर कुमार ढुङ्गानाले तथ्य प्रमाणमा आधारित नीति तय गर्न पत्रकारहरुको लेखाइले महत्वपूर्ण भूमिका खेल्ने धारणा राखे । कार्यक्रममा आर्थिक पत्रकार संघका अध्यक्ष मोदनाथ ढकालले श्रमजीवि पत्रकारहरुको श्रम शोषण गर्ने मिडिया हाउसलाई सरकारी सुविधा रोक लगाउने खालको व्यवस्था गर्न सुझाव दिए ।

 

 
 
  
 

You may also like