ओलीले नियुक्त गरेका प्रदेश प्रमुखलाई विदा गरिंदै : प्रदेश–२, गण्डकी र लुम्बिनीबाट शुरुवात

काठमाडौं। कांग्रेस नेतृत्वको सरकारले प्रदेश प्रमुख हटाउने तयारी गरेको छ । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका प्रदेश प्रमुखहरुलाई बिदा गर्न लागिएको हो ।

पहिलो चरणमा लुम्बिनी, गण्डकी र प्रदेश–२ का प्रमुखलाई हटाउने तयारी शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेको छ । उनीहरुलाई आज, भोलि नै हटाउने तयारी भएको उच्च सरकारी स्रोतले जानकारी दिएको छ ।

ओली सरकारले प्रदेश–२ मा तत्कालीन प्रमुख तिलक परियारलाई हटाएर डा. राजेश अहिराजलाई नियुक्त गरेको थियो । गण्डकीमा अमिक शेरचनलाई हटाएर सीता पौडेललाई नियुक्त गरिएको थियो । नेकपा विभाजित भएपछि माओवादी कोटाबाट बनेका शेरचन र परियारलाई एमालेको एकल सरकार हुँदा हटाइएको थियो ।

लुम्बिनीमा कांग्रेसबाट नियुक्त उमाकान्त झालाई हटाएर धर्मनाथ यादवलाई प्रदेश प्रमुख बनाइएको थियो । अहिले बागमती प्रदेश प्रमुखमा विष्णु प्रसाद प्रसाई, सुदुरपश्चिम प्रदेश प्रमुखमा गंगाप्रसाद यादव, गण्डकी प्रदेश प्रमुखमा सीताकुमारी पौडेल, लुम्बिनी प्रदेश प्रमुखमा धर्मनाथ यादव, प्रदेश–१ प्रमुखमा सोमनाथ अधिकारी, प्रदेश २ प्रमुखमा डा. राजेश झा र कर्णाली प्रदेश प्रमुखमा गोविन्द प्रसाद कलौनी छन् ।

हरेक पटक सरकार फेरिँदा सबैभन्दा पहिले प्रदेश प्रमुख फेर्ने गरिएको छ । यस पटक पनि देउवाले ओलीले नियुक्त गरेका प्रदेश प्रमुख हटाएर कांग्रेस, माओवादी, जसपा उपेन्द्र यादव समूह र एमालेको माधव नेपाल समूहकालाई भागवण्डासहित नियुक्ति तयारी गरेका हुन् ।

 
 
  
 

You may also like