एकै दिन ३,४२१ जनामा कोरोना संक्रमण, १,६८६ जना निको, २५ को मृत्यु

काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा ३,४२१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । १२ हजार २४० जनाको पीसीआर र पाँच हजार ३२ जनाको एन्टिजेन गरी १७ हजार २७२ जनाको परीक्षण गर्दा ३,४२१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

उपत्यकामा पछिल्लो २४ घण्टामा ९९९ जना संक्रमित थपिएका छन् । उपत्यकाका विभिन्न प्रयोगशालामा भएका पीसीआर तथा विभिन्न स्थानमा गरिएको एन्टिजेन परीक्षणबाट ९९९ संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । थपिएका संक्रमितमध्ये काठमाडौंका सबैभन्दा बढी ६७७ जना छन् । यस्तै भक्तपुरमा १२५ र ललितपुरमा १९७ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

यो कुल परीक्षणको झण्डै २० प्रतिशत हो । योसहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको संख्या सात लाख ३८ हजार ९१८ जना पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा १,६८६ जना कोरोना भाइरस संक्रमित उपचारपछि निको भएका छन् । योसँगै सङ्क्रमणमुक्त हुनेको संख्या ६ लाख ४५ हजार ३०१ पुगेको छ ।

यही अवधिमा थप २५ जनाको कोरोना सङ्क्रमणबाट ज्यान गएको छ । योसहित कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ९,७३८ पुगेको छ । अहिले नेपालमा २७ हजार ९०८ जना कोरोनाका सक्रिय सङ्क्रमित छन् । सक्रिय सङ्क्रमितमध्ये ६६९ जनाको आईसीयू र १६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 

 
 
  
 

You may also like