दीपमा अभिभावक कविता वाचन प्रतियोगिता

बुटवल । दीप बोर्डिङ हाई स्कूलले गुरुपूर्णिमाको अवसरमा अभिभावक कविता वाचन प्रतियोगिता गरेको छ । जुम एप मार्फत् भर्चुअल रूपमा सम्पन्न प्रतियोगितामा दीप बोर्डिङ हाई स्कूलमा अध्ययन गर्ने विद्यार्थीहरूका ४० जना अभिभावकहरूको सहभागिता रहेको थियो । प्रतियोगी अभिभावकहरूले शिक्षा, लैङ्गिक समानता, नैतिक अनुशासन, संस्कार, प्रविधिले निम्त्याएका विकृति, आमाको महत्व, देशको स्वाधीनता प्रतिको चिन्ता, कोरोना महामारी लगायत समसामयिक विषयवस्तुमा कविता वाचन गरेका थिए ।

प्रतियोगितामा रञ्जु गौतम घिमिरे प्रथम, विमला अर्यालले द्वितीय र सुन्दर तरामुले तृतीय स्थान हासिल गरेका छन्। प्रथम हुनेले ५ हजार, द्वितीय हुनेले ३ हजार र तृतीय हुनेले २ हजारका साथ प्रमाणपत्र प्राप्त गर्ने र पुरस्कार वितरण विद्यालयमा विशेष कार्यक्रम मार्फत वितरण गरिने कार्यक्रम संयोजक पुरुषोत्तम पाण्डेयले बताए ।

कार्यक्रममा विद्यालयका प्राचार्य टीकाराम न्यौपानेले बालबालिकाका प्रथम गुरु आमाबुबाको सम्मान र विद्यार्थीहरूलाई अभिभावकको सक्रियता मार्फत् सिकाइ र अतिरिक्त क्रियाकलापमा उत्प्रेरित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए। विद्यालयले कोरोना महामारीको विषम परिस्थितिमा पनि विद्यार्थीहरूलाई अनलाइनका माध्यमबाट नृत्य, गायन, कविता वाचन, वक्तृता, चित्रकला जस्ता रचनात्मक र सिर्जनात्मक कार्यक्रम सञ्चालन गर्दै आइरहेको उनले जानकारी दिए ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र प्रसाद ध्वजू, उपाध्यक्ष उमाकान्त चापागाई, उपप्राचार्य त्रय ज्ञानु थापा, सुरेन्द्र कुमार शाक्य, ११ र १२ कक्षाका संयोजक वसन्त कुमार जोशी लगायत सहभागी थिए।

प्रतियोगितामा बुटवल बहुमुखी क्याम्पसमा अध्यापनरत प्रा.डा. हिरण्यलाल ज्ञवाली, उप प्राध्यापक कलाधर अर्याल र सरस्वती संस्कृत क्याम्पसका प्राचार्य बालकृष्ण पाठकले निर्णायकको भूमिका निर्वाह गरेका थिए। । कार्यक्रमको सञ्चालन कार्यक्रम संयोजक पुरुषोत्तम पाण्डेयले गरेका थिए।

 
 
  
 

You may also like