विपिकाे स्मृतिमा बृक्षाराेपण

सैनामैना । सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले नेपालको प्रजातान्त्रिक आन्दोलनमा स्व. विश्वेश्वर प्रसाद कोइरालाको योगदान महत्वपूर्ण रहेको बताउनु भएको छ ।
उहाँको राष्ट्रियता, प्रजातन्त्र र समाजबादप्रतिको दृढ आस्थाका कारण नेपालले २०४६ सालको प्रजातन्त्र हुँदै गणतन्त्रसम्मको यात्रा तय गर्न सफल भएको बताउनु भयो ।
वीपीको ३९ औं स्मृति दिवसको अवसरमा बुधवार सैनामैना नगरपालिकाको आयोजनामा वार्ड नं. १० पानबारीमा आयोजित बृक्षारोपण कार्यक्रमलाई सम्वोधन गर्दै सभापति शाहले वीपी र पुष्पलाललाई नेपाली राजनीतिका दुई महान हस्तीको संज्ञा दिनुभयो ।
उहाँले वीपी र पुष्पलालले सधै फरक राजनीतिक आस्था भएपनि कांग्रेस र कम्युनिष्ट मिलेरै देशबाट राणा शासनको अन्त्य गर्ने आन्दोलनमा ऐक्यबद्धता जनाएको र अहिलेपनि प्रजातन्त्र कमजोर बन्ने अवस्थामा कांग्रेस र कम्युनिष्टहरु मिलेरै अघि बढ्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।
सभापति शाहले वीपीलाई विश्वले नै राजनेताको रुपमा स्वीकार गरेको बताउँदै नेपाली जनताको प्रजातान्त्रिक हक अधिकारका लागि गर्नुभएको त्याग कहिल्यै विर्सन नसकिने बताउनु भयो ।
वीपीले लिनुभएको समाजबादको नारा अनुसरण गर्नु जरुरी रहेकोमा जोड दिदै सभापति शाहले सैनामैना नगरपालिकाले वीपी स्मृति दिवसमा बृक्षारोपण गरेर असल राजनैतिक सन्देश दिएको बताउनु भयो ।
सभापति शाहले सरकारले भूमि आयोगको केन्द्रिय तथा जिल्ला पदाधिकारी खारेज गरेपनि आयोगले पुनः निरन्तरता पाउने बताउँदै भूमिहीन समस्या समाधानमा सरकारले अग्रसरता लिने बताउनु भयो ।
उहाँले नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधि भएरपनि कांग्रेसका नेताको स्मृतिमा बृक्षारोपण अभियानको सुरुवात गर्नु नगर प्रमुखको ठूलो उदार दृष्टिकोण र भावना हो भन्दै यस प्रकारको असल राजनैतिक संस्कार र आदर्श अरु पार्टीलेपनि अनुसरण गर्नुपर्छ भन्नुभयो ।
कार्यक्रममा सैनामैना नगरपालिकाका प्रमुख चित्रवहादुर कार्कीले जुन पार्टीको भएपनि इतिहास पुरुषको सम्झनामा नगरपालिकाले सिर्जनात्मक कार्यक्रम गर्ने बताउँदै वीपी स्मृति दिवसको अवसरमा गत वर्षदेखि नै बृक्षारोपण कार्यक्रमलाई निरन्तरता दिएको बताउनु भयो ।
उहाँले नेताहरुको स्मृतिमा कार्यक्रम गर्न सहज भएपनि विरुवा लगाउन र हुर्काउन झनै गाह्रो हुने बताउँदै फरक राजनैतिक आस्थालाई पनि प्राथमिकता दिने हो भने भोलिका दिनमा राम्रो संस्कारको विकास हुने बताउनु भयो ।
त्यस अवसरमा सैनामैना १० पानबारीमा अमला र कपुर लगायत गरी एक हजार विरुवा रोपिएको थियो ।

 
 
  
 

You may also like