प्रधानमन्त्री देउवाले पाए १६५ विश्वासको मत

काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवा प्रतिनिधिसभाको विश्वास प्राप्त गर्न सफल भएका छन् । प्रधानमन्त्रीदेउवाले राखेको विश्वासको मतको प्रस्तावमा आज अबेर भएको मतदानमा उनले १६५ मत प्राप्त गरेका छन् ।

सभामुख अग्निप्रसाद सापकोटाले मतदानमा सहभागी २४९ जनामध्ये विश्वासको मतको प्रस्तावको पक्षमा १६५ मत, विपक्षमा ८३ मत र तटस्थ १ परेको घोषणा गरे । उनले उक्त मत हाल कायम रहेको प्रतिनिधिसभा सदस्य संख्याको बहुमत भएकाले प्रस्ताव बहुमतले पारित भएको घोषणा गरे ।

देउवालाई गठबन्धन र जसपाको महन्थ ठाकुर पक्षाका सदस्यहरुले पनि विश्वासको मत दिएका छन् । हाल प्रतिनिधिसभामा २ सय ७१ सदस्य रहेकोले विश्वासको मतका लागि कम्तिमा १ सय ३६ सांसदको समर्थन आवश्यक थियो ।

संविधानको धारा ७६(५) बमोजिम नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । देउवाले नियुक्तिको शपथग्रहणको छैटौँ दिनमा विश्वासको मत लिएका हुन् ।

उनलाई विश्वासको मत प्राप्त नभएको भए प्रतिनिधिसभा विघटन भई ६ महिनाभित्र निर्वाचन हुनुपर्ने थियो ।

 
 
  
 

You may also like