मध्यपहाडी लोकमार्ग र जयपृथ्वी राजमार्ग अवरुद्ध, ठाउँ–ठाउँमा पहिरो

पर्वत । पहिरोले मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङखण्ड विगत तीन दिनदेखि अवरुद्ध भएको छ । लोकमार्गअन्तर्गत पर्वतको कुश्मा नगरपालिका–८, सुन्दरेखोला, चुवाभिर र वडा नम्बर–२ को नयाँपुलमा गएको पहिरोले सडक अवरुद्ध बनेको हो ।

चुवा र सुन्दरेखोलाको पहिरो हटाउन सहज भए पनि नयाँपुलको पहिरो हटाएर सडक सञ्चालन गर्न केही दिन लाग्ने पर्वतका ट्राफिक प्रहरी प्रमुख कृष्ण खड्काले जानकारी दिए । वर्षा रोकिएकाले सडक खुलाउने प्रयास भइरहेको उनले बताए । सडकमा ठूला–ठूला ढुंगा खसेका कारण लामो समय लागेको हो ।

सडक अवरुद्ध हुँदा पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङसँगको सम्पर्क टुटेको छ । यस क्षेत्रबाट अन्यत्र जाने सवारीसाधन पर्वतको सहस्रधारा र कुश्मा बजारमा अलपत्र बनेका छन् भने अन्यत्रबाट आएका सवारीसाधन पराधीमा अलपत्र बनेका छन् ।

उता, म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–मालढुंगा सडक पनि अझै सञ्चालनमा आउन सकेको छैन । सडकखण्डअन्तर्गत पर्वतको जलजला गाउँपालिकाको अनियाघाट र ज्यामिरेलगायत ठाउँमा पहिरोले सडक अवरुद्ध बनाएको हो । सडक खुलाउन प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

पहिरोले जयपृथ्वी राजमार्ग अवरुद्ध
यस्तै पहिरोका कारण जयपृथ्वी राजमार्ग गए रातिदेखि अवरुद्ध भएको छ । बैतडीको खोड्पे– बझाङ सडक खण्ड अन्तर्गत बैतडीको ढोल्यामोडमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो ।

वर्षाका कारण बिहीबार राती १० बजे खसेको पहिरोले राजमार्ग अवरुद्ध भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दर्शन खड्काले बताए ।
राजमार्ग अवरुद्ध हुँदा बझाङ तर्फ जाने गाडी र बझाङबाट बैतडी र तराईका लागि छुटेका गाडीहरु बीच बाटोमै रोकिएका छन् । सडकमा ठूलो पहिरो खसेकोले राजमार्ग सञ्चालनमा केही समय लाग्ने प्रहरीले जनाएको छ ।

पहिरो पन्छ्याउनका लागि समन्वय भईरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । पहिरोले जयपृथ्वी राजमार्ग बेलाबेलामा अवरुद्ध हुने गरेको छ ।

 

 
 
  
 

You may also like