कुटपिट गरी हत्या गरेको आरोपमा चार जना जेल चलान

सप्तरी । सप्तरीमा कुटपिट गरी एक व्यक्तिको हत्या गर्ने चार जनालाई पुर्पक्षका लागि जेल चलान गरिएको छ ।

गएको जेठ ६ गते दिउँसो खड्क नगरपालिका–५ बस्ने रामदल यादवलाई कुटपिट गरी हत्या गरेको आरोपमा चारजना सप्तरी जिल्ला अदालतको आदेशमा जेल चलान भएका हुन् ।जेल चलान हुनेहरुमा खडक नगरपालिका–५ का ३० वर्षीय विनय यादव, वर्ष ३० कै मनोजकुमार यादव, वर्ष २४ का मुकेशकुमार यादव र वर्ष ३१ का महेशकुमार पासवान रहेको सप्तरीका प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।

उनीहरुलाई विहीबार पुर्पक्षका लागि जेल चलान गरिएको हो । गएको जेठ ६ गते दिउँसो सप्तरीकै रुपनी गाउँपालिका १ रायपुरबाट राजविराजतर्फ जाने सडक खण्डमा उनीहरुले खुकुरी लगायत हतियार प्रयोग गरी रामदल यादवलाई उनीहरुले कुटपिट गरी गम्भीर घाइते बनाएका थिए ।

उपचारको क्रममा उनको मृत्यु भएको थियो । घटना लगत्तै चार जना पक्राउ परेका थिए । घटनामा संलग्न अन्य केही व्यक्ति फरार छन् । उनीहरुको खोजी भइरहेको डीएसपी काफ्लेले बताए ।

 
 
  
 

You may also like