बाढीले बगाउँदा एक जना बेपत्ता

दैलेख। दैलेखमा बिहीबार बिहान परेको अविरल वर्षाका कारण आएको बाढीले बगाउँदा एक पुरुष बेपत्ता भएका छन् । भैरवी–२ स्थित पोडीघाट सिँचाइ आयोजना निर्माण कार्यमा कार्यरत सोही वडाका ४० वर्षीय केशव थापालाई बाढीले बगाएर बेपत्ता बनाएको छ ।

सिंचाइ योजनाको जाली भर्न लागिरहेका बेला एक्कासी खोलामा बाढी आएर बगाएको उनका भाइ गणेश थापाले जानकारी दिए । योजनाको काम नियमित भइरहेकाले जाली भरिरहेको अवस्थामा एक्कासी बाढी आयो, जाली छोप्न खोज्दा बाढीले बगाएर बेपत्ता भएको थापाले जानकारी दिए ।

स्थानीय योजनामा कार्यरत मजदुर र गाउँलेले उनको शव खोजी गरिरहेका छन् । घटना बिहान ११ बजे घटे लगत्तै खोजीकार्य जारी राखेको र उक्त खोला मिसिएको अर्को खोला छामघाटमा समेतमा बिहानदेखि बगरैबगर हिँड्दा पनि कुनै नभेटिएको गणेश थापाले बताए ।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख अनुपम श्रेष्ठका अनुसार घटना घटेको खबरपछि इलाका प्रहरी कार्यालय दुल्लुबाट दुई प्रहरी घटनास्थलमा खटाइएको बताए । खोलामा बाढी एक्कासी आउँदा भरिरहेको जाली जोगाउन खोज्दा केशव बेपत्ता भएको उनले बताए । प्रहरी र स्थानीयवासीले खोजीकार्य जारी राखेका छन् । प्रदेश सरकारको रु १२ लाख रकममा पोडिगाड खोला तटबन्ध तथा सिँचाइ योजनाको काम भइरहेको छ । रासस

 

 
 
  
 

You may also like