निषेधाज्ञाको मौका छोपी सल्बलाए तस्कर

सर्लाही। विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड­ १९) सङ्क्रमणका कारण चारैतिर निषेधाज्ञाले आवागमन पातलिएपछि सर्लाहीका वनहरुमा तस्कर र शिकारीको बिगबिगी बढेको छ । जिल्लाको वनक्षेत्रमा वन तस्कर र शिकारीले निषेधाज्ञाको मौका छोपी तस्करी सिकारी बढाएका छन् ।

जिल्लाको लालबन्दी, इश्वरपुर, हरिपुर्वा र वरथवा नगरपालिका क्षेत्रमा पर्ने वनमा केही दिनदेखि तस्कर र शिकारीको चहलपहल बढेको वनक्षेत्र नजीकका बासिन्दाले बताएका छन् । जिल्लामा गत वैशाख २५ गतेदेखि जारी निषेधाज्ञाको अवधि यही जेठ १० गतेसम्मलाई बढाइएको छ । निषेधाज्ञाको मौका छोपी वन क्षेत्रमा तस्कर र शिकारीले जङ्गली जनावर र वनजन्य पदार्थको चोरी शिकारी गर्ने गरेको बताइएको छ ।

सर्लाही र महोत्तरीको सीमाक्षेत्रका जङ्गलमा नीलगाई, बँदेल, हरिण, मृग र दुम्सीसहितका वन्यजन्तु तथा वनकुखुरा (लुइँचे) र कालिजसहितका पक्षी बाक्लै पाइन्छ । दिनहुँ बँदेल, हरिण, मृग, दुम्सी, निल गाईलगायत वन्यजन्तुको शिकार हुने गरेको वनसँगै जोडिएको बस्तीका बासिन्दाको भनाइ छ । वैशाख ३० गते साँझ शिकारीले निल गाई मारी छाला काट्दै गर्दाको अवस्थामा प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको थियो ।

इश्वरपुर नगरपालिका­४ सागरनाथ वन क्षेत्रबाट हतियारसहित वन पसेका शिकारीको प्रदेश नं.२ ०२ ०३२ प २५२२ नम्बरको मोटरसाईकल र बिआर ३० यु ४६७७ नम्बरको भारतिय नम्बरका दुईवटा मोटरसाइकलसहित तीन नाल भरुवा बन्दुक, त्यसमा लाग्ने फलामको बारुद इलाका प्रहरी कार्यालय केशरगन्ज, बयालवास र प्रहरी चौकी फुलजोरको प्रहरी टोलीले बरामद गरेको थियो ।

सो क्रममा शिकारका लागि वन पसेका शिकारी र प्रहरीबीच दोहोरो गोली हानाहान समेत भएको इलाका प्रहरी कार्यालय केशरगन्ज, बयालवासका प्रहरी प्रमुख प्रहरी निरीक्षक जनकराज ढुङ्गानाले बताए । उनका अनुसार त्यस क्रममा शिकारीले तीन राउण्ड हवाई फाएर गरेको र जवाफमा प्रहरीले दुई राउण्ड हवाई फाएर भएको थियो ।

प्रहरीले फाएर गरेपछि शिकारीहरुले भरुवा बन्दुक छोडेर भागेका भएपनि इश्वरपुर नगरपालिका­४ का शिकारी रणबहादुर गोलेलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक खोजतलास र थप अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले जानकारी दिए । शिकार गर्न गएका चारमध्ये बाँकी तीनजना भाग्न सफल भएको र उनीहरुको खोजतलास जारी रहेको प्रहरीले जनाएको छ ।

वन क्षेत्रमा तस्कर र शिकारीको चहलपहल बढेपछि नजीकका बासिन्दा डराएका छन् । तस्कर र शिकारीले आपूmहरुसँग कसैलाई पोल लगाए कुटपिट गर्ने धम्कीसमेत दिने गरेका सर्वसाधारणको भनाइ छ । वनक्षेत्र नजीकका बासिन्दाले व्यापक रुपमा गस्ती बढाउन माग गरेका छन् ।

डिभिजन वन कार्यालयका डिभिजन वन अधिकृत माधवप्रसाद देवले शिकारीले गतिविधि बढाएको स्वीकार गर्दै वन सुरक्षा गस्तीलाई सक्रिय बनाइएको बताए । कार्यालयले लालबन्दी, इश्वरपुर, हरिपुर्वा र वरथवा नगरपालिका क्षेत्रका वनमा सघन गस्तीका लागि आफ्नै अधिकृतको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय प्रशासनको समन्वयमा सुरक्षाकर्मी परिचालित गरिएको उनले बताए ।

निषेधाज्ञा घोषणापछि वनमा शिकारी र काठ तस्कर नपसेको डिभिजन वन कार्यालयको दाबी छ । पछिल्ला दिनहरुमा वनका कुनै रूख नकाटिएको र वन्यजन्तुको विचरण पनि राम्रो रहेको सव­डिभिजन वन कार्यालय लालबन्दीका प्रमुख उज्वलकुमार यादवले बताए ।

यसबीचमा डिभिजन कार्यालय मातहतका जिल्लाका छ वटा सब­डिभिजन कार्यालयमध्ये सघन वनक्षेत्रसँग जोडिएका पाँच कार्यालयले आफ्ना क्षेत्रभित्रका सामुदायिक वन उपभोक्ता समितिको तत्परतामा वन संरक्षण समन्वय संयन्त्र गठनसमेत गरेका छन् ।

पाँच सब­डिभिजन मातहतका ८२ वटा सामुदायिक वन उपभोक्ता समितिले आ–आफ्ना क्षेत्रभित्र बनाएका संयन्त्रको खबरदारीले पनि तस्कर वन पस्न डराएका डिभिजन वन कार्यालयको भनाइ छ । जिल्लामा करीब एक लाख २५ हजार ९४८ हेक्टर क्षेत्रफलमध्ये २९ हजार ७३६.१ हेक्टर वन क्षेत्र रहेको छ । यसमध्ये चुरे क्षेत्रमा पर्ने १३ हजार ८६८ हेक्टर, तराई वन क्षेत्र १५ हजार ४९४ हेक्टर, सागरनाथ वन विकास परियोजनाको छ हजार ६६९ दशमलव १५ हेक्टर वन क्षेत्र रहेको छ ।

डिभिजन वन कार्यालयका सूचना अधिकारी राकेश रञ्जन दासका अनुसार कार्यालयकै विशेष तालीम प्राप्त सशस्त्र सुरक्षाकर्मीहरुको तीनवटा बेश रहेको र तिनमा २१ सुरक्षाकर्मी परिचालित छन् भने भने वनका कर्माचारीहरु सहित ७० जना सुरक्षा गस्ती टोली पालोपालो गस्तीमा जाने गर्दछन् । सामुदायिक वन उपभोक्ता समितिले सब­डिभिजन क्षेत्रमा संयन्त्र गठन गरेर सक्रियता बढाएपछि तस्कर डराएको उनले बताए ।

यसअघि गत चैत तेस्रो साताको शुरुदेखि वैशाखसम्म भने वनमा वन्यजन्तुको चोरी शिकार र रूख कटान भइरहेको पाइएको थियो । सो अवधिमै वन सुरक्षा गस्तीले करीब २६ दशमलव १५ क्युविक फिट साल र सिसौका काठ विभिन्न ठाउँबाट बरामद गरेको थियो ।
त्यसै अवधिमा टेम्पु, ट्याक्टर र साइकलसहितका काठ ओसार्न प्रयोग गरिएका सवारी साधन र चार जनालाई सुरक्षा गस्ती टोलीले पक्राउ गरेर कारवाही प्रक्रिया बढाइसकेको सूचना अधिकारी दासले जानकारी दिए । यसै अवधिमा नीलगाई, बँदेल, हरिण, मृग र दुम्सीसहितका वन्यजन्तु तथा वनकुखुरा (लुइँचे) र कालिजसहितका वन्यजन्तुको उद्धार गरिएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

 

 
 
  
 

You may also like