मध्यरात संसद विघटन गरिएपछि देउवाले बोलाए आकस्मिक बैठक

काठमाडौं। प्रमुख नेपाली प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी तथा पूर्व पदाधिकारीको आकस्मिक बैठक बोलाएका छन् ।

आज (शनिबार) विहान साढे ९ बजे देउवा निवास बूढानीलकण्ठमा बैठक बस्न लागेको महामन्त्री शशांक कोइरालाका स्वकीय सचिव भरत तिवारीले जानकारी दिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा शुक्रबार राति १ बजे प्रतिनिधिसभा विघटन गरी आगामी कात्तिक २६ र मंसिर ३ गते प्रतिनिधिसभाको निर्वाचन गर्ने गरी मिति तोकेपछि कांग्रेसको आकस्मिक बैठक बस्न लागेको हो ।
उक्त निर्णयको कांग्रेस नेताहरुले चर्को विरोध गरेका छन् । बैठकले सरकारको कदमको प्रतिवाद गर्ने गरी रणनीति तय गर्ने बुझिएको छ ।

देउवाले पार्टीका नेताहरुसँग बैठकपछि विपक्षी दलका नेतासँग पनि आफै छलफल गर्ने तयारी गरेको स्रोतले जनाएको छ । माओवादी केन्द्र, एमालेको माधव नेपाल र जसपाको उपेन्द्र यादव पक्षसँगको छलफलको समय भने तय भइसकेको छैन । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद विघटनविरुद्ध कानुनी र राजनीतिक लडाइँ लड्ने बताएका छन् ।

 

 
 
  
 

You may also like