भारतका ५० प्रतिशत नागरिकले अझै मास्क लगाउँदैनन् : अध्ययन

नयाँदिल्ली । भारतमा अहिले पनि झण्डै ५० प्रतिशत मानिसले मास्क नलगाउने गरेको पाइएको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको विवरण अनुसार एक अध्ययनले अझै पनि ५० प्रतिशत मानिसले मास्क नलगाउने गरेको देखाएको हो ।
राजधानी नयाँ दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका सहसचिव लव अग्रवालले भने, ‘हालैको एक अध्ययनबाट झण्डै ५० प्रतिशत भारतीयले मास्क नलगाउने गरेको पाइएको छ ।’

मास्क लगाउनेमध्ये पनि झण्डै ६४ प्रतिशतले मात्रै पर्याप्तरूपमा नाक नछोप्ने गरेको पाइएको छ । भारतका नौ राज्यमा अहिले पनि ५० हजारदेखि एक लाखबीचमा कोरोनाका सक्रिय सङ्क्रमित छन् । सहसचिव अग्रवालका अनुसार अरु १९ राज्यमा भने ५० हजारभन्दा कम सक्रिय सङ्क्रमितहरू रहेका छन् ।

कर्नाटक, पश्चिम बंगाललगायतका केही राज्यहरूमा २५ प्रतिशतभन्दा बढीमा सङ्क्रमण नै देखिने गरेको उनको भनाई छ । ‘कुनै एउटा व्यक्तिले सामाजिक दुरी कायम गरेन भने औसतमा एक महिनामा ४०६ जनालाई सङ्क्रमित गराउन सक्ने देखिएको छ,’ उनले भने । अध्ययनयनले सामाजिक दुरी कायम गर्न र मास्क लगाउन अति आवश्यक रहेकोमा जोड दिएको छ । भारतमा कोरोना भाइरस महामारीको संक्रमणबाट मृत्यु हुनेको दैनिक संख्यामा कमी आउन सकेको छैन । विगत २४ घण्टामा थप चार हजार २०९ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो सहित भारतमा कोरोनाभाइरसको संक्रमणबाट २ लाख ९१ हजार ३३१ जनाको मृत्यु भएको छ । भारतमा बढी घातक मानिएको कोरोनाभाइरसको दोस्रो लहर शुरु भएयता दैनिक चार हजारको हाराहारीमा संक्रमितको मृत्यु भइरहेको छ ।

भारतमा कोरोनाका कारण मृत्यु भएकाहरूको संख्या सरकारले सार्वजनिक गरेको विवरण भन्दा बढी हुनसक्ने विज्ञहरूले दावी गरेका छन् । भारतमा पछिल्ला केही दिनदेखि संक्रमितको संख्या भने घटेको देखिएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा दुई लाख ५९ हजार ५९१ जना नयाँ संक्रमित देखिएका छन् भने तीन लाख ५७ हजार २९५ जना संक्रमणमुक्त पनि भएका छन् ।

भारतमा अझै पनि ३० लाख २७ हजार ९२५ जनामा सक्रिय संक्रमण छ । भारतमा कोभिड देखिएयता २ करोड ६० लाख ३१ हजार ९९१ जना कूल संक्रमित भेटिएका छन्। त्यसमध्ये २ करोड २७ लाख १२ हजार ७३५ जना संक्रमणमुक्त भएका छन्। एजेन्सी

 
 
  
 

You may also like