बिहे भोजपछि फैलिएको कोरोनाबाट दुईको मृत्यु, ७४ जना संक्रमित

गुल्मी। गुल्मीको कालीगण्डकीमा बिहेभोजपछि फैलिएको कोरोनाबाट दुई जनाको मृत्यु भएको छ भने ७४ जनामा सङ्क्रमण देखिएको छ । कालीगण्डकी गाउँपालिका–५ मा गत वैशाख १८ गते गरिएको बिहे भोजपछि गाउँलेलाई कोरोनाका मिल्दाजुल्दा लक्षण देखिन थालेका थिए । स्थानीय जीवनदार माध्यमिक विद्यालयको शिक्षक समेत रहेका ५० वर्षीय पुरुषले १७ गते छोराको विवाह गराई दिए ।

दुलही लिन स्याङ्जाको गल्याङ नगरपालिकाको कपर्दीमा वडासदस्य बमबहादुर पहराईसहित ३० जनाको समूह जन्ती बनेर गयो । सरकारले वैशाख १४ गते नै विद्यालय बन्द गरेर २५ जनाभन्दा बढी जम्मा नहुन आग्रह गर्‍यो । प्रशासन कार्यालयले पनि त्यसभन्दा पहिले नै पटक–पटक सूचना जारी गर्दै २५ जनाभन्दा बढी जम्मा नहुन आग्रह गर्‍यो । कालीगण्डकी–५ का जनप्रतिनिधि र स्वयं परिवारले उक्त आग्रह मानेनन् ।

वैशाख १८ गते कालीगण्डकीको वडा नं ३, ४ र ५ का गरी ५०० जति सामूहिक भोजमा सहभागी भए । भोजमा कालिगण्डकीका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्षलाई पनि निमन्त्रणा थियो । अध्यक्ष, उपाध्यक्ष गएनन् । वडाध्यक्ष आफू गएनन्, परिवारलाई भोजमा पठाए । बिहेको चार–पाँच दिन अगाडि सामग्री किन्नका लागि दुलाहाका बुबा सुनौली गएको वडा सदस्य पहराईले बताए ।

वैशाख २१ गतेपछि शिक्षकलाई ज्वरो आउने, रुघा लाग्नेलगायतका समस्या देखिन थाल्यो । थप उपचारका लागि परिवार र छिमेकीले बुटबल जान भने पनि उनले मानेनन्। वैशाख २८ गते पुर्तिघाट स्वास्थ्यचौकीमा जाँच गराए । एन्टिजेन्ट जाँच गराउँदा पोजेटिभ आएपछि पीसीआरका लागि स्वाब सङ्कलन गरेर तम्घास पठाइयो । यही जेठ १ गते १०ः०० बजेपछि श्वासप्रश्वासमा समस्या देखियो भने होस गुमे जस्तो भयो ।

पुर्तिघाट स्वास्थ्य चौकीमा अक्सिजन नपाएपछि मिर्मिस्थित एक निजी अस्पतालमा लगियो । सोही दिन राति अस्पतालले मृत्युको घोषणा गरिदियो भने पीसीआर रिपोर्ट पोजेटिभ भएको जानकारी आयो । केही दिनदेखि कोरोनासँग मिल्दाजुल्दा लक्षण देखिएपछि स्थानीय ५६ वर्षीया महिलाको पीसीआरका लागि स्वाब लिइ परीक्षणका लागि तम्घास पठाइएको थियो ।

उनी १८ गतेको बिहेभोजमा सहभागी थिए । जेठ १ गते नै साँझपख बिहे भोजमै सहभागी भएकी उनलाई श्वासप्रश्वासमा समस्या देखियो । थप उपचारका लागि पुर्तिघाट ल्याए पनि ज्यान गएको वडासदस्य बोमबहादुरले बताए ।

८१ प्रतिशत गाउँबासीमा संक्रमण

कोरोना महामारीमा गरिएको बिहेभोजपछि स्थानीयवासीमा लक्षण देखिन शुरु गरेका वडासदस्य बोमबहादुरले बताए । स्थानीयलाई रुघा तथा पखाला लाग्ने हुँदाहुँदै पनि खानेपानी आयोजनाको पाइपका लागि लाइन खन्ने काम जारी थियो । एकातर्फ ठूलो संख्यामा बिहेभोजमा उपस्थित हुनु र अर्कोतर्फ खानेपानीको लाइन खन्ने काम नै फोक्सिङमा कोरोना फैलिनुको मुख्य कारण रहेको बोमबहादुरले बताए ।

स्थानीयवासीमा कोरोनाका मिल्दाजुल्दा लक्षण देखिन शुरु गरेपछि यही जेठ २ गते ९४ जनाको स्वाब संकलन गरियो । जेठ ४ गते साँझ प्राप्त रिपोर्टमा ७४ अर्थात् ८१ प्रतिशत नागरिक कोरोना सङ्क्रमित भएको गाउँपालिकाका स्वास्थ्य अधिकृत चन्द्रबहादुर थापाले जानकारी दिए ।

सङ्क्रमितमध्ये ३१ पुरुष र ४३ महिला छन् । दुई वर्षको बच्चादेखि ७१ वर्षका नागरिकसम्मलाई कोरोना सङ्क्रमण भएको थापाले बताए । गाउँलेलाई अहिले रुघाखोकी र ज्वरो आउने समस्या देखिएको छ । वडासदस्य पहराईले नागरिक बढी आत्तिए पनि गाउँपालिकाबाट समस्या समाधानका लागि कुनै पहल नभएको गुनासो गरे । रासस

 
 
  
 

You may also like